काठमाडौ महानरपालिकाका मेयर बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टीमाथि खनिएका छन् । मिसन ०८४ भन्दै रास्वपाले देशव्यापी अभियान नै चलाइरहेका बेला मेयर बालेन शाह रास्वपामाथि खनिएका हुन् । देश बन्ने तर, रास्वपाको ०८४ ले नबन्ने बालेन शाहको भनाई छ । रास्वपाले डा.स्वर्णिम वाग्लेलाई उपसभापति तथा रास्वपाका सबै सांसदहरुलाई पार्टीको केन्द्रीय सदस्य बनाएकै दिन काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले रास्वपालाई लक्षित गर्दै सामाजिक सञ्जाल फेसबुकमा कडा स्टाटस लेखेका छन् । उनले लेखेको रास्वपा लक्षित स्टाटसमा भनिएको छ : देश बन्छ, तिमीहरुको ०८४ ले बन्दैन, तिमीहरुको ०८४ सक्किएर बन्छ । तिमीहरुलाई सक्काएर बन्छ ।
रास्वपाले चुनाव सकिएको एक वर्ष पनि नपुग्दै मिसन ०८४ अभियान सञ्चालन गरेपछि यसका पक्ष र विपक्षमा विभिन्न टिका टीप्पणीहरु आइरहेका बेला मेयर बालेन शाहले बुधबार मध्यरातमा रास्वपा लक्षित स्टाटस लेखेपछि यसले राजनीतिक वृत्तमा नयाँ प्रकारको तरंग सिर्जना गरेको छ । मेयर बालेन शाह नयाँ राजनीतिक दल खोल्ने तयारीमा रहेका खबरहरु सार्वजनिक भइरहँदा उनले रास्वपाका विरुद्धमा लक्षित गर्दै स्टाटस लेखेपछि बालेन कस्तो दल खोल्दैछन् भन्ने कौतुहलता सबैमा छाएको छ । यसअघि कतिपयले भने मेयर बालेन शाहले रास्वपाबाटै राष्ट्रिय राजनीति गर्न सक्ने आँकलन गरेका थिए । तर, उनको स्टाटसले त्यो सम्भावनालाई पुरै नकारेको छ भने अब बालेन शाहको रणनीतिकाप्रति धेरैको चासो उब्जिएको छ ।
मिसन ०८४ अभियान लिएर अघि बढिरहेका रास्वपा सभापति रवि लामिछाने सहितका नेताहरु बुधबार मध्यरातमा आएको बालेनको स्टाटसबाट झस्किएका छन् । ०८४ मा ठूला दलहरुले महागठबन्धन नै गरेर आएपनि पत्तासाफ पारिदिने चुनौती दिँदै आएका रवि लामिछाने लगाएतका नेताहरुले आफूहरुलाई बालेनबाट चुनौती थपिन सक्ने अनुमान गरेका छन् । ठूला दलप्रति जनताको वितृष्णा बढेको भएपनि बालेन शाहले दल खोल्दा त्यसको प्रत्यक्ष मारमा आफूहरु पर्न सक्ने रास्वपा नेताहरुको ठम्याई छ ।
काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएर बालेन शाहले चुनाव जितेपछि हौसिँदै रवि लामिछाने राष्ट्रिय राजनीतिमा प्रवेश गरेका थिए भने लामिछानेको दलले प्रतिनिधिसभाको चुनावमा ठूलो सफलता हात पारेको थियो । पार्टी स्थापनाको ६ महिना पनि नपुग्दै रवि लामिछानेको पार्टीले संघिय संसदमा २० सिट हात पारेको थियो भने उपनिर्वाचन मार्फत पछि एक सिट थपेर प्रतिनिधिसभामा २१ सिट पु¥याउन सफल भएको थियो । रवि लामिछाने नेतृत्वको पार्टी राष्ट्रिय राजनीतिमा उदाउँदै गर्दा काठमाडौंका मेयर बालेन शाहले शुरुवाती दिनमा कुनै प्रतिकृया नदिएपनि पछिल्ला दिनमा भने उनी रास्वपामाथि घुमाउरो रुपमा खनिन थालेका छन् । यसअघि पनि बालेनले देशका सबै दल एउटै ड्याङका मुला भएको भन्दै आक्रामक स्टाटस लेखेका थिए ।
बालेन निकटहरुले बताए अनुसार बालेन शाह शुरुवाती समयदेखि नै रवि लामिछानेसँग सकारात्मक थिएनन् । स्वतन्त्र रुपमा चुनाव जितेका बालेन रवि लामिछानेले स्वतन्त्र नाम नै हाइज्याक गरेर पार्टी खोलेपछि उनले त्यसमा लामिछानेको बेइमानी देखेका थिए । स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुको लहर आएका बेला रवि लामिछानेले त्यसैबाट प्रभावित भएर चलाखीपूर्ण रुपमा नाम नै हाइज्याक गरेको बालेन निकटहरुको भनाई छ । रवि लामिछाने राष्ट्रिय राजनीतिमा हाम फाल्न लाग्दा बालेन खुसी नै थिए तर, जब लामिछानेले पार्टीको नाम नै राष्ट्रिय स्वतन्त्र पार्टी राखेर स्वतन्त्र रुपमा चुनाव लड्न पाउनेहरुको अधिकारमाथि बेइमानीको नियत राखे त्यसपछि भने बालेन रवीसँग चिढिएको बालेन निकटका एक व्यक्तिले बताए ।
पार्टी नखोल्दै बेइमान नियत राख्नेबाट देश कसरी बन्छ भन्दै बालेन शाहले आफू निकटकाहरुसँग अहिले यो विषयमा सार्वजनिक रुपमा नबोल्ने तर, समय आएपछि नछाड्ने नीति लिनुपर्ने बताएका थिए । त्यही अनुसार अहिले बालेन शाह रास्वपामाथि खनिएका हुन् । बेइमान नियत राख्नेहरुबाट देश नबन्ने ठम्याईका साथ बालेन शाहले रास्वपाको महोत्तरी बैठकले राजनीतिक प्रतिवेदन टुंगो लगाएकै रात कडा स्टाटस लेख्ने निर्णय गरेको बालेन निकट एक व्यक्तिले बताए । उनले भने, हामीले सोच विचार गरेरै यो लेखेका हौं । हामीलाई थाहा छ, रविहरुबाट देश बन्दैन । चुनाव सकिएको एक वर्ष नपुग्दै मिसन ०८४ भनेर लाग्नु ०७९ को मंसिरमा संसदका लागि जनताले दिएको २० सिटमाथिको मजाक हो ।





