Logo
२५ श्रावण २०८३, सोमबार
|  Mon Aug 10 2026

नेरिक एकेडेमीमा कराँते ‘जुनियर बेल्ट ग्रेडिङ्ग’ कार्यक्रम सम्पन्न


शंखमुलमा रहेको नेरिक एकेडेमीमा कराँते जुनियर बेल्ट ग्रेडिङ्ग समारोह–२०८२ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा विद्यार्थीहरूले कराँतेका विभिन्न कौशल प्रदर्शन गर्नुका साथै पहेंलो बेल्ट (Yellow Belt) वितरण गरिएको थियो। शुक्रबार विद्यालय परिसरमै आयोजना गरिएको कार्यक्रममा अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

कक्षा ४, ५ र ६ का विद्यार्थीहरूलाई कराँते तालिममा प्रगति, अनुशासन र सहभागिताका आधारमा प्रमाणपत्र तथा Yellow Belt प्रदान गरिएको विद्यालयले जनाएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै अभिभावक प्रशान्त ठाकुरले नेरिक एकेडेमीले अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीहरूको सर्वांगीण विकासमा पुर्‍याएको योगदानको प्रशंसा गरे। उनले भने, “विद्यालयले पढाइसँगै खेलकुद तथा आत्मरक्षा जस्ता सीपमा जोड दिएको देख्दा अभिभावकका रूपमा हामी अत्यन्त सन्तुष्ट छौँ। यसले विद्यार्थीको आत्मविश्वास, शारीरिक क्षमता र अनुशासनमा प्रत्यक्ष प्रभाव पारिरहेको छ।”

त्यस्तै, विद्यालयका प्रिन्सिपल मिलन केसीले कराँते खेल विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासमा एक महत्वपूर्ण साधन बनेको बताए। उनले केही दिनमै विद्यालयमा मनोपरामर्श कक्षा संचालन गर्न लागिएको जानकारी दिँदै, यसले विद्यार्थीहरूको अध्ययन, व्यवहार, मानसिक स्वास्थ्य तथा व्यक्तिगत विकासमा थप सहयोग पुग्ने उल्लेख गरे।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रशान्त ढकाल, विद्यालयका निर्देशक डा. मन खत्री, कराँते प्रशिक्षक रविन्द्र राई, सहित अन्य पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । नेरिक एकेडेमीले विद्यार्थीहरूलाई पाठ्यक्रमसँगै आत्मरक्षा, खेलकुद र व्यक्तित्व विकासमा जोड दिँदै आउने वर्षहरूमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

 

 


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार