Logo
१३ श्रावण २०८३, बुधबार
|  Wed Jul 29 2026

ओलीलाई झट्का, कोर टीमकै नेताले छाडे साथ


केपी शर्मा ओलीका लागि एघारौं महाधिवेशन फलामको च्युरा चपाए झैं कठिन हुने देखिएको छ । आफ्नै कोर टीममा रहेका नेताहरुले धमाधम साथ छाडेपछि ओलीका लागि यो महाधिवेशन निकै कठिन हुने देखिएको हो । ओलीलाई फुटबलको पेलेसँग तुलना गर्दै ओलीको बचाउमा यसअघि घुँडा धसेर लाग्दै आएका कृष्णगोपाल श्रेष्ठ ओली क्याम्प छाडेर ईश्वर पोखरेलतिर गएका छन् भने ओलीको कोर टीमका रहेका प्रदीप ज्ञवालीले ओलीसँग असाध्यै चित्त दुखाएका छन् । महासचिव पदका प्रबल दाबेदारका रुपमा हेरिएका प्रदीप ज्ञवालीलाई बेवास्ता गर्दै ओलीले फेरि शंकर पोखरेललाई नै महासचिवका रुपमा काखी च्यापेपछि ज्ञवाली महाधिवेशन स्थलबाट मन दुखाउँदै निस्किए । ओलीको कोर टीममा रहेका प्रदीप ज्ञवालीको चित्त दुखाई ईश्वर पोखरेल पक्षका नेताहरुका लागि महाधिवेशनमा ठूलो बल हो । ओली क्याम्पबाट महासचिव पदको उम्मेदवार पक्का बन्छु भन्ने सोचेका प्रदीप ज्ञवालीले अहिले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएका छन् । जबकी ओलीले ज्ञवालीलाई उपाध्यक्ष पदमा व्यवस्थापन गर्छु भनी फकाउँन खोजेपनि ज्ञवाली फकिएनन् ।

ओलीको कोर टिममा रहेका अर्का नेता अग्नी खरेलले पनि ओलीको साथ छाडेका छन् । ओली प्रधानमन्त्री भएका बेला महान्यायाधिवक्ताको भूमिकामा रहेका खरेललाई ओलीले पदाधिकारीमा समेट्ने छाँटकाँट नदेखाएपछि उनी ओलीसँग विरक्तिँदै सचिवमा उम्मेदवारी दिएका छन् । ओली प्यानलका लागि यो सामान्य झट्का होइन । लालबाबु पण्डित, रघुजी पन्त लगाएतका नेता पनि ओली नजिकका नेता थिए । ओली भनेपछि मरिहत्ते गर्ने पण्डित र पन्तलाई पनि ओलीले एघारौं महाधिवेशनमा बिच्क्याए । ओलीसँग रिसाएका पण्डितले सचिवमा उम्मेदवारी दिएका छन् भने पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । यसबाट ओली क्याम्पमा खैलाबैला मच्चिएको छ । राजेन्द्र गौतम जो यसअघि प्रचार विभाग प्रमुख समेत थिए । ओलीका दाहिने हात मानिन्थे गौतम । तर, गौतम पनि ओलीसँग फायर भएका छन् । ओली प्यानलमा नसमेटिएपछि गौतमले उपमहासचिव पदमा उम्मेदवारी दिएका छन् । त्यसो त केही महिनाअघि सम्म गोकुल बास्कोटा पनि ओली गुटका थिए । ओलीका प्यारा मानिने बास्कोटा महाधिवेशनको मुखैमा त होइन तर, केही महिनाअघि ओलीसँग टाढिएपछि यसले ओली समुहमा हलचल ल्याएको थियो । अहिले उनले ईश्वर पोखरेल प्यानलबाट सचिव पदमा उम्मेदवारी दिएका छन् । ओली समुहबाट विद्रोह गर्ने अन्य नेताहरुको संख्या धेरै छ । अहिले जसरी ओली समुहमै विद्रोहीको संख्या जसरी बढेको छ । यसले ओलीका लागि एघारौं महाधिवेशन अत्यन्तै कठिन हुने देखिएको छ । अघि नाम लिइए बाहेकका त्यस्ता अन्य धेरै नेताहरु छन् जसले ओली र उनी पक्षीय नेताहरुको मत धेरै कटाइदिन्छन् । विभिन्न प्रदेश र जिल्लामा बलियो पकड भएका नेताहरु एमाले महाधिवेशनको उम्मेदावरी दर्ताको क्षणमा आइपुग्दा ओली गुटबाट बाहिरिनुले ओलीलाई ठूलो झट्का दिएको छ । दशौं महाधिवेशनमा भीम रावलले ओलीसँग प्रतिष्पर्धा गर्दैगर्दा अहिले जस्तो न त प्यानल देखिएको थियो न त ओली गुटमा रहेकाहरुले नै चित्त दुखाएको अवस्था थियो । त्यसैले पनि ओलीले सोचका थिए होलान् एघारौं महाधिवेशन पनि त्यस्तै हुनेछ । त्यहीभएर केही समयअघि ओलीले ईश्वर पोखरेललाई घुमाउरो पारामा भीम रावलकै हविगत होला भनी चेतावनी दिएका थिए । ओलीलाई लागेको थियो भीम रावलको भन्दा अलिकति बढी मत मात्रै ईश्वर पोखरेलले कटाउँछन् त्यसले मलाई केही फरक पर्दैन । तर, एकाएक जसरी माहोल परिवर्तन भएको छ यसले भने ओलीको मुटुमा ढ्याङग्रो बजाइदिएको छ । मतदानको क्षण सम्म अझ धेरै नेताहरु खुलमखुल्ला विद्रोहको मनस्थितीमा देखिएको कतिपय महाधिवेशन प्रतिनिधिको भनाई छ ।

ओली प्यानलबाट उम्मेदवार बनेकाहरु पनि ढुक्क हुने स्थितीमा छैनन् । भोट क्रसको सम्भावना ज्यादा भएका कारण महाधिवेशनको रिजल्ट नआउञ्जेल मुटुको धड्कन झनझन् बढ्ने देखिन्छ । अझ पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको भित्री चलखेलको हिसाबकिताब त छुट्टै छँदैछ । त्यसैले पनि महाधिवेशनको रिजल्ट नआउँञ्जेल ओलीका लागि न भोक न निन्द्राको अवस्था देखिन्छ ।


प्रतिक्रिया दिनुहोस !
विचार