Logo
२२ कार्तिक २०८३, आईतवार
|  Sun Nov 8 2026

कुकुर तिहारजस्ता पर्वलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छ : सबिना काफ्ले


काठमाडौँ । प्रधानमन्त्री बालेन शाहकी पत्नी सबिना काफ्लेले नेपाली मौलिक संस्कृति, परम्परा र प्रकृतिसँगको मानव सम्बन्धलाई विश्वमाझ चिनाउन कुकुर तिहारजस्ता पर्वलाई अन्तरराष्ट्रियकरण गर्नुपर्नेमा जोड दिएकी छन् ।

कुकुर तिहार, २०८३ को अवसरमा प्रथम महिला काफ्लेले आज यहाँ आयोजना गर्नुभएको शुभकामना आदानप्रदान कार्यक्रममा पशुपंक्षी तथा प्रकृतिप्रतिको सम्मान र संरक्षण गर्ने विशिष्ट परम्परा रहेको हाम्रा चाडपर्व र संस्कृतिलाई अन्तरराष्ट्रियकरण गरी प्रर्वद्धन गर्नुपर्ने धारणा व्यक्त गरेकी छन् ।

उनले कुकुर तिहारलाई केवल धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा मात्र नभई पशुप्रतिको प्रेम, निष्ठा, करुणा र सहअस्तित्वको सन्देश दिने अवसरका रूपमा विश्वमाझ पुर्याउनुपर्ने बताइन् । विश्वभर कुकुरप्रतिको प्रेम र आकर्षण बढिरहेको विश्व परिवेशमा कुकुरको पूजा गर्ने मुलुकको विशिष्ट सांस्कृतिक परम्परालाई नेपालले अन्तरराष्ट्रिय पहिचानका रूपमा स्थापित गर्न सक्ने उनको भनाइ थियो ।

उनले कुकुर तिहारलाई एक दिनको उत्सवका रुपमा मात्र सीमित नगरी वर्षभरि नै पशु कल्याणका पक्षमा विविध गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिइन् । उनले कुकुरको उचित व्यवस्थापन, खोप, स्वास्थ्य उपचार तथा उनीहरूप्रति गरिने व्यवहारमा समेत एकरुपता सहित जिम्मेवारी बोध गर्नुपर्ने खाँचो औँल्याइन् ।

काफ्लेले नेपालका चाडपर्वमा प्रकृति र जीवजन्तुप्रतिको सम्मान झल्कने अनेकौँ मौलिक अभ्यास रहेको उल्लेख गर्दै कुकुर तिहारसँगै काग पूजा, गाई पूजा, नाग पूजा, नेवार समुदायको म्हः पूजा र छठ पर्वलाई पनि अन्तरराष्ट्रियस्तरमा प्रर्वद्धन गर्नुपर्ने धारणा राखिन्  । वर्षा नभएका बेला भ्यागुताको विवाह गराउने परम्परासमेत प्रकृति र मानवबीचको सम्बन्धको उदाहरण भएको उनको भनाइ थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार