Logo
८ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 24 2026

क्रिकेटर हेमन्त धामी बिज एजुकेशनका ब्रान्ड एम्बेसडर


अन्तर्राष्ट्रिय शिक्षा परामर्श क्षेत्रमा पृथक पहिचान बनाउँदै आएको बिज एजुकेशनले नेपाली क्रिकेटर हेमन्त धामीलाई ब्रान्ड एम्बेसडरका रूपमा अनुबन्ध गरेको छ। सहकार्य तीन वर्षका लागि गरिएको भए पनि प्रत्येक वर्ष आपसी सहमतिमा पुनः सम्झौता (Re-agreement) गरिने बिज एजुकेसनले जनाएको छ।

यससम्बन्धी औपचारिक घोषणा तथा सम्झौतामा बिज एजुकेसनका हरि कार्की र क्रिकेटर हेमन्त धामीले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् । बिज एजुकेशनका अनुसार यो साझेदारी केवल ब्रान्ड प्रवर्द्धनका लागि नभई युवाहरूको दीर्घकालीन विकास र जिम्मेवार मार्गदर्शनका लागि हो।

कार्यक्रममा बोल्दै बिज एजुकेशनका संस्थापक तथा प्रबन्ध निर्देशक हरि कार्कीले नेपालमा क्रिकेटको उल्लेखनीय विकास भएको बताउँदै खेलाडीहरूको प्रशंसा गरे ।

कार्कीले बिज एजुकेशन केवल बेलायतका प्रतिष्ठित विश्वविद्यालय प्रवर्द्धन गर्ने संस्था मात्र नभई नेपाली विद्यार्थीलाई सबैभन्दा पहिला शैक्षिक, मानसिक र आर्थिक रूपमा तयार पार्न विश्वास गर्ने संस्था भएको उल्लेख गरे ।

‘बिज एजुकेशनले कहिल्यै पनि विद्यार्थीलाई विदेश जान दबाब दिँदैन।’ कार्कीले भने, ‘नेपालमै गुणस्तरीय विश्वविद्यालयहरू उपलब्ध भएकाले स्नातक तह स्वदेशमै अध्ययन गर्नु उपयुुक्त हुन्छ ।’ प्लस टु पढ्ने बित्तिकै विदेश जाने धेरै विद्यार्थीले अधिक संघर्ष र कठिनाइ भोगिरहनु परेको उनले उदाहरण पेश गरे । पर्याप्त बजेट, तयारी र परिपक्वता बिना महँगो देश रोज्नु बुद्धिमानी नहुने उनले स्पष्ट पारे ।

बिज एजुकेशनका संस्थापक कार्कीका अनुसार बिज एजुकेशनले विद्यार्थीलाई विदेश पठाउने मात्र नभई सही निर्णय गर्न सक्षम बनाउने जिम्मेवारी हो।

कार्यक्रममा खेलकुद र शिक्षाबीचको सम्बन्धबारे पनि चर्चा गर्दै उहाँले खेलकुदले अनुशासन, नेतृत्व, धैर्यता र आत्मविश्वास निर्माण गर्ने बताउनुभयो। यी गुण अन्तर्राष्ट्रिय शिक्षा तथा जीवनमा सफल हुन आवश्यक रहेको उल्लेख गर्दै उहाँले बिज एजुकेशनले खेल, कला र शिक्षालाई एउटै प्लेटफर्ममा जोड्दै आएको जानकारी दिनुभयो।

नवनियुक्त ब्रान्ड एम्बेसडर क्रिकेटर हेमन्त धामीले बिज एजुकेशनप्रति आभार व्यक्त गर्दै शिक्षा मात्र होइन, खेलकुद र युवाको समग्र भविष्यमा लगानी गरिरहेको संस्थासँग आबद्ध हुन पाउँदा आफूलाई गर्व लागेको बताए । ‘खेल र अध्ययन सँगसँगै अघि बढाउन सकिन्छ।’ धामिले भने ।

बिज एजुकेशन यसअघि नै हास्य तथा फिल्म क्षेत्रबाट जितु नेपाल (मुन्द्रे), फुटबल क्षेत्रबाट पूर्व राष्ट्रिय कप्तान उपेन्द्र मान सिंह, र ब्याडमिन्टनबाट खेलाडी स्वोरलिन श्रेष्ठलाई ब्रान्ड एम्बेसडरका रूपमा प्रस्तुत गरिसकेको छ। अब क्रिकेट क्षेत्रबाट हेमन्त धामीको आगमनसँगै बिज एजुकेशनले खेलकुद, सिर्जनात्मक क्षेत्र र शिक्षा लाई समान रूपमा अघि बढाउँदै युवाको सर्वाङ्गीण विकासमा जोड दिएको स्पष्ट भएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार