रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीच सोमबार रातभर भएको वार्तापछि उनीहरु एउटै गाडीमा हुँइकिए । राती २ बजे एउटै गाडीमा हुँइकिएका उनीहरुको गाडी चलाउँने व्यक्ति चाहिँ रास्वपा उपसभापति डिपी अर्याल थिए । डीपी अर्यालले चलाएको गाडीको अघिल्लो सिटमा बालेन साहका निकटतम सहयोगी कुमार बेन थिए भने पछाडिको सिटमा बालेन र रवि बसेका थिए । उनीहरु बसेको गाडी पत्रकारलाई बेवास्तागरी हुँइकिन लागेको थियो । तर, उनीहरुकै समाचार संकलनका लागि रातभर जाग्राम बसेका पत्रकारहरुले भिडियो चाहिँ खिचौं न भनेपछि रास्वपा उपसभापति डिपी अर्यालले गाडीभित्रको लाइट बालिदिएका थिए । पत्रकारले रवि र बालेनलाई भेटबारे प्रश्न गर्न खोजेपछि अर्यालले गाडीको सिसा बन्द गरे ।
रास्वपा सभापति रवि लामिछाने कारागारबाट छुटे लगत्तै उनले राजनीतिक भेटघाटलाई तिब्र बनाएका हुन् । आफू छुटे लगत्तै उनले बालेनसँग भेट्न चाहेपनि त्यो भने सम्भव भएन । नख्खु कारागारबाट निस्किएलगत्तै उनले विभिन्न राजनीतिक भेटवार्ता र पार्टी गतिविधि बाक्लो बनाउँदै सोमबार राती मात्रै बालेन साहसँग भेटवार्ता गरे । गत शुक्रबार उच्च अदालत बुटवलबाट निस्किएका लामिछाने चितवन हुँदै काठमाडौं आइपुगेका थिए । शनिबार दिउँसो काठमाडौं आएलगत्तै जेनजी घाइते र शहीद परिवारसँग भेटवार्ता गरे । भोलिपल्ट पार्टी कार्यालयमा स्वागत बैठकपछि उनले देखिनेगरी प्रधानमन्त्री सुशीला कार्कीसहित सरकारी टोलीसँग छलफल समेत गरे ।
यसबीचमा उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसँग आइतबार पनि भेटवार्ता गरेको अपुष्ट खबर बाहिरिएको थियो । यद्यपि यसबारे बालेन र रवि निकटका कसैले पनि केही बताएका छैनन् । सोमबारको भेटवार्तालाई भने उनीहरु दुबैले सार्वजनिक गर्न चाहेपछि केही पत्रकारलाई राती नै भेटवार्ताबारे खबर गरिएको थियो ।
छलफलमा बालेनका तर्फबाट उनका सहयोगी कुमार बेन र निश्चल बस्नेत सहभागी छन् । रास्वपाका तर्फबाट उपसभापति डीपी अर्याल र केन्द्रीय सदस्य असिम साह सहभागी थिए ।





