Logo
९ श्रावण २०८३, शनिबार
|  Sat Jul 25 2026

काठमाडौंमा दुई दिने हस्तकला मेला शुरु


काठमाडौंमा दुई दिने हस्तकला मेला शुरु भएको छ । अन्तर्राष्ट्रिय कलाकारहरुको समुह एसियन्स् अफ् मुलरानीको आयोजनामा काठमाडौंको ठमेलमा शनिबारबाट हस्तकला मेला शुरु भएको हो ।

नेपाली हस्तकलाका उत्पादनलाई विश्वबजारमा चिनाउँने उदेश्यले ठमेलस्थित होटेल मुलबेरीमा शुरु भएको मेलामा हस्तकलासँग सम्बन्धीत नेपाली कलाकारहरुले उत्पादन गरेका सामग्री प्रदर्शनीमा राखिएको छ । नेपाली हस्तकलाका सामानको व्यापार तथा अन्तर्राष्ट्रिय बजारीकरणको मूख्य उदेश्यले मेला आयोजना गरिएको नेपाल हस्तकला महासंघका पूर्व उपाध्यक्ष समेत रहेका एसिएन्स अफ् मुलरानीका नेपाल संयोजक डिल्लीरत्न तुलाधरले जानकारी दिए ।

मेलामा विभिन्न देशका ३७ जना अन्तर्राष्ट्रिय कलाकारको प्रत्यक्ष सहभागिता रहेको जनाउँदै उनले मेलामा नेपाली कलाकार र अन्तर्राष्ट्रिय कलाकारबीच अनुभव आदानप्रदान समेत हुने भएकाले यसको विशेष महत्व रहेको बताए । मेला अवोलोकनका लागि पुगेकी नेपालका लागि श्रिलंकाकी राजदूत रुवान्थी डेल्पितियाले हस्तकलाका सामग्रीसँग सम्बन्धित मेलाले हस्तकलाको क्षेत्रमा काम गरिरहेकाहरुलाई उत्प्रेरित गर्ने बताइन् । मेला अवलोकनपछि खुसी व्यक्त गर्दै उनले आयोजकलाई धन्यवाद समेत दिइन् ।

मेला आइतबारसम्म चल्नेछ । नेपाली हस्तकलाका सामग्रीहरुको अन्तर्राष्ट्रिय बजारीकरणका लागि अघिल्लो वर्ष पनि यसप्रकारको मेला सञ्चालन भएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार