पूर्व डीआईजी रमेश खरेलले शेरबहादुर देउवा लोकतन्त्रको कलंक रहेको आरोप लगाएका छन् । पार्टीको विशेष महाधिवेशन चलिरहँदा सभापति शेरबहादुर देउवा समूहले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई कारबाही गरेको विषयमा खरेलले आक्रोश पोखेका हुन्। गगन थापा कांग्रेसको सभापतिमा चयन हुनुअघि र देउवाले कारबाही गरेपछि उनले लेखेको स्टाटसमा कडा आक्रोश पोखिएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै खरेलले देउवा समूहको कदमलाई घोर भत्सर्नायोग्य भनेका छन्। उनले लोकतन्त्रको मूलमन्त्र नै बहुमत भएको भन्दै पार्टीका बहुमत सदस्यहरूको आह्वानमा भइरहेको विशेष महाधिवेशनको म्यान्डेटलाई सम्मान गर्न नसक्ने देउवा समूह लोकतन्त्रवादी हुन नसक्ने जिकिर गरे। उनले तत्कालीन राजा ज्ञानेन्द्रबाट असक्षम प्रधानमन्त्री घोषित भएका देउवाले अहिले जेनजीआन्दोलनपछिको समाजको गति नबुझ्दा पार्टीलाई फुटबाट जोगाउन पनि असक्षम देखिएको आरोप लगाए।





