Logo
६ मंसिर २०८३, आईतवार
|  Sun Nov 22 2026

प्रधानमन्त्री बालेन भारत प्रस्थान, सोमबार मोदीसँग द्विपक्षीय वार्ता


काठमाडौं । प्रधानमन्त्री बालेन साह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री साह आइतबार दिउँसो १ः४५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री साहको भ्रमण टोलीमा अर्थमन्त्री डा। स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन, राजनीतिक सल्लाहकार असिम शाह, सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र, स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, मिडिया व्यवस्थापन संयोजक दीपा दाहाल र संस्कृति तथा सम्पदा समन्वय उपसंयोजक विनय शाक्य सहभागी छन् ।

यसका साथै उच्च सरकारी अधिकारी, व्यवसायी तथा सरकारी सञ्चारमाध्यमका प्रतिनिधिसहित भ्रमण टोलीमा कुल ३५ सदस्य सहभागी रहेको जनाइएको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री साहले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । त्यस्तै, सोमबार मंसिर ७ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम तय भएको छ ।

भ्रमणका अवसरमा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी सम्पन्न परियोजनाहरूको उद्घाटन र नयाँ परियोजनाहरूको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।

दुवै देशका नेतृत्वबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ । शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्न विभिन्न समझदारीपत्र (एमओयू) आदानप्रदान गर्ने कार्यक्रमसमेत रहेको छ ।

प्रधानमन्त्री साहसँग भ्रमणको पहिलो दिन भारतीय विदेशमन्त्री डा। एस जयशंकरले शिष्टाचार भेट गर्ने कार्यक्रम छ । त्यस्तै, सोमबार नयाँ दिल्लीस्थित राजघाटमा महात्मा गान्धीको समाधिस्थलमा पुगेर प्रधानमन्त्री शाहले श्रद्धासुमन अर्पण गर्नेछन् ।

भारतको राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री साह सोमबार साँझ ६ः३५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्रीको भ्रमण टोली स्वदेश फर्किएपछि परराष्ट्रमन्त्री शिशिर खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरी भ्रमणबारे जानकारी दिने कार्यक्रम रहेको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार