झापा ५ मा उम्मेदवारी दर्ता गर्न जाँदा रास्वपा वरिष्ठ नेता बालेन शाहले आफ्नै समर्थकमाथि पोखेको रिसवाला भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । कालो दौरा सुरुवाल, कालो टोपी र कालै चस्मामा सजिएर झापा निर्वाचन कार्यालयतिर समर्थकको ठूलो समुहसहित अघि बढेका बालेनले निर्वाचन कार्यालय पुग्ने पुग्ने समुहमा आफ्नै समर्थकलाई कडा शब्दमा गाली गरेका छन् भने समर्थकमाथि भौतिक रुपमै उनी जाइलागेका छन् ।
भिडियोमा उनले समथर्कलाई हुत्याएको देखिन्छ । देशको प्रधानमन्त्री बन्ने सपना सहित झापा ५ को चुनावी मैदानमा उत्रिएका बालेन साहले समर्थकमाथि गरेको व्यवहार अत्यन्तै असहिष्णु रहेको भन्दै सामाजिक सञ्जालमा उनको आलोचना समेत भइरहेको छ । तर, बालेन र रास्वपाका समर्थकहरुले भने यसलाई उचाल्नुको कुनै अर्थ नभएको भन्दै त्यतिबेलाको परिस्थिती बुझेर मात्रै टिका टिप्पणी गर्न भनेका छन् । आफ्नो स्वाद अनुसार भिडियोबारे टिका टिप्पणी भइरहेका बेला खासमा भएको के थियो भन्ने कुरातिर लागौं । बालेन साह उम्मेदवारी दर्ताका लागि शक्ति प्रदर्शन सहित निर्वाचन कार्यालयतिर अघि बढिरहेका थिए ।
ठूलो दलबल उनको पछि देखिन्थ्यो । केही अनलाईन मिडियाहरु उनका अघिपछि थिए । निर्वाचन आचारसंहिता अनुसार उम्मेदवारी दर्ताका लागि निर्वाचन कार्यालयमा ठूलो दलबलसहित जान मिल्ने थिएन । तर, बालेन दलबलसहित अघि बढिरहेका थिए । कोही कसैले उनलाई निर्वाचन कार्यालयमा २५ जना भन्दा बढी प्रवेश गर्ने हो भने उम्मेदवारी नै खारेज हुन सक्ने भनेर सम्झाइदियो । त्यसपछि उनी झस्किए । उनी आफ्ना पछि लागेको भिडलाई त्यहिँ बस्न भन्न थाले । तर, भिडले टेरेन । त्यसपछि बालेन रिसको झोकमा आफैं पछि फर्केर मान्छे हुत्याउन थाले ।
बालेनले कडा शब्द बोल्दै मान्छे हुत्याएको भिडियोमा देखिन्छ । त्यहाँ उनले रिस थाम्न सकेका छैनन् । प्रधानमन्त्री बन्ने सपना बोकेर झापा ५ को मैदानमा उत्रिएका बालेन संयमित देखिनुपर्ने हो । तर, उनी आफै मान्छे हुत्याउन लागेको देखियो । भावी प्रधानमन्त्रीका रुपमा हेरिएका बालेनले आफ्ना समर्थकलाई अलि परै शान्त सम्बोधन गरेर भन्न सक्थे तपाईँहरु यहिँ बस्नुहोस् हामी उम्मेदवारी दर्ता गरेर आउँछौं । प्रधानमन्त्री बन्ने योजना सहित अघि बढेका नेताले शान्त भावमा यति भन्दा उनका समर्थकले नमान्ने कुरै थिए । तर, उनले कडा रिस देखाए । जुन रिसले उनको व्यक्तित्वलाई असर पु¥यायो । पहिलो कुरा त बालेनले बुझ्नुपर्ने हो सार्वजनिक ठाउँमा मैले रिस देखाउँन हुँदैन ।
म संयमित हुनुपर्छ म शान्त हुनुपर्छ । निर्वाचन कार्यालयमा जाँदा शक्ति प्रदर्शन नगर्न निर्वाचन आयोगले नै उम्मेदवारहरुलाई भनेको थियो । बालेन साहले शुरुमै यो कुराको ख्याल गरेको भए उनी रिसाउँन पर्ने नै थिएन । तर, उनले झापा ५ मा उम्मेदवारी दर्ताको दिनलाई शक्ति प्रदर्शनको दिन सम्झिए । बालेनको माहोल गज्जबको छ भन्ने बनाउँन खोजे । जसका लागि झापा भन्दा बाहिरका धेरै समर्थक र शुभेच्छुकलाई पनि त्यहाँ उतारिएको भन्ने आरोप अन्य विपक्षी पार्टीहरुले लगाइहेका छन् । त्यो आरोपमा सत्यता छ या छैन बालेन र रास्वपाले नै जान्ने कुरा भयो । तर, शक्ति प्रदर्शनमा उत्रने अनि प्रदर्शनमा आएका समर्थकलाई नै अपमान गर्ने शैलीले भने बालेनप्रति प्रश्न उठाएको छ । बालेनले मान्छे हुत्याउँदै गरेको यो दृश्यले न त उनका समर्थक र शुभेच्छुकलाई खुसी तुल्याएको छ न त भावी प्रधानमन्त्रीका रुपमा हेरिएका उनको ओज नै बढाएको छ ।





