Logo
२ बैशाख २०८३, बिहीबार
|  Thu Apr 16 2026

कांग्रेस र एमालेको हरिबिजोग


देशभरको निर्वाचन मतपरिणाम धमाधम आइरहँदा कांग्रेस र एमाले रुनु न हास्नुको अवस्थामा पुगेका छन् । कांग्रेस र एमालेका अधिकांश नेताहरुको संसद यात्रालाई रास्वपाका नेताहरुले ठाउँको ठाउँ रोकिदिएका छन् । अब संसदमा एमाले र कांंग्रेसको उपस्थिती असाध्यै न्युन हुनेछ । यसअघि संसदको पहिलो दल रहेको कांग्रेस अनि दोस्रो ठूलो दल रहेको एमाले संसदमा कति औं दलका रुपमा रहन्छन् भन्ने कुराका लागि अबका केही घन्टा कुर्नुपर्नेछ । अंकगणितिय हिसाबले यी दलहरु प्रतिपक्षी दलका रुपमा संसदमा रहने भएपनि यीनिहरुको प्रभाव अब पहिले जस्तो हुने अनुमान भने गर्न सकिन्न ।

कांग्रेस र एमाले दुबै पार्टीको संसदीय दलको नेता अब यसअघि सुनिएका जस्ता प्रभावशाली नाम नहुन सक्छन् । किनकि नाम सुनिएका प्रायः नेताहरु उठ्नै नसक्नेगरी आफ्नै निर्वाचन क्षेत्रमा थला परेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली होऊन् या महासचिव शंकर पोखरेल, महेश बस्नेत होऊन् या ईश्वर पोखरेल प्रायः सुनिएका एमाले नेताहरु रास्वपा नेताहरुसँग नराम्रोसँग पछारिएका छन् ।

अहिलेसम्मको अवस्था हेर्दा संसदमा कांग्रेस, एमालेको बिउ अलिअलि मात्रै देखिनेछ । एमालेको तुलनामा संसदमा कांग्रेसको उपस्थिती अलि ठूलो हुने लक्षण देखिएपनि रास्वपाको तुलनामा कांग्रेस निकै सानो हुनेछ । कांग्रेसको लामो राजनीतिक जीवनमा उतारचढाव आइरहेपनि यसरी सोत्तर भएको खासै थिएन । २०६४ को निर्वाचनमा माओवादीले कांग्रेसलाई नराम्रोसँग धक्का दिएको थियो । यद्यपि अहिलेकै जस्तो लज्जाजनक स्थिती कांग्रेसले बेहोरेको थिएन । एमालेको पनि उस्तै हो । २०६४ को निर्वाचनमा एमालेलाई पनि माओवादीबाट ठूलो झड्का लागेको थियो । तर, त्यसपछिका निर्वाचनमा एमाले र कांग्रेसको स्थिती सुधारिएको थियो । गणितिय हिसाबले कांग्रेस एमालेको स्थिती सुधारिएपनि जनताको चाहना अनुसार उनीहरुको व्यवहार सुधारिएन ।

जसले गर्दा जनताको असन्तुष्टी निकै चुलियो । २०७९ को निर्वाचनमै जनताले कांग्रेस एमालेलाई सबक सिकाउँदै छौं है भन्ने संकेत गरेका थिए । तर, त्यो संकेतको कुनै परबाह कांग्रेस एमालेले गरेनन् । जसकारण अहिलेको चुनावमा आइपुग्दा दुबै दलको हरिबिजोग भयो । एमाले कांग्रेस दुबै दलले फेरि उस्तै प्रकारको पुनरागमनको सपना देखेका थिए । फेरि संसद र सिंहदरबारमा उसैगरी पुग्ने उनीहरुको योजना थियो । तर, जनताका अघि केही लागेन । बेलैमा जनताको मन बुझ्न सकेको भए मत पनि उनीहरुको पक्षमा खस्न सक्थ्यो । तर, जनतालाई जहिल्यै भोट बैंक मात्रै सोच्ने प्रवृत्तिबाट कांग्रेस एमाले माथि उठन् नसक्दा उनीहरुलाई जनताले मतबाटै किनारा लगाइदिए ।


प्रतिक्रिया दिनुहोस !
विचार