गृहमन्त्री सुधन गुरूङले एमाले अध्यक्ष केपी शर्मा ओलीको बन्दीप्रत्यक्षीकरण सम्बन्धी रिट खारेज हुनुपर्ने माग गरेका छन् । ओली पक्राउ सम्बन्धमा सर्वोच्च अदालतलाई बुझाएको लिखित जवाफमा उनले यस्तो माग गरेका हुन् । ओलीले आफूलाई गैरकानुनी पक्राउ गरिएको भन्दै सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा गुरूङले शुक्रबार लिखित जबाफ पेस गरेका हुन्।
गुरूङले आफ्नो लिखित जबाफमा जाँचबुझ आयोगको सिफारिस र जाहेरी सम्बन्धमा अनुसन्धानका लागि अधिकारप्राप्त अधिकारीबाट कानुन बमोजिम पक्राउ पुर्जी जारी भएको जबाफ दिएका छन्।
ओलीलाई गलत वा अन्य कुनै कारणले पक्राउ गरिएको भन्न नमिल्ने गुरूङको जबाफ छ।
चैत १६ गते ओलीको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै जरूरी पक्राउ पुर्जी जारी हुनुपर्ने पूर्वअवस्थाबारे सर्वोच्चले जबाफ मागेको थियो।





