Logo
११ जेष्ठ २०८३, सोमबार
|  Mon May 25 2026

जिबी राईको खोजी शुरु


बालेन नेतृत्वको सरकार गठन भएसँगै जिबी राईको व्यापक खोजी शुरु भएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले जिबी राई खोई भन्दै उनका विषयमा सोधीखोजी शुरु गरेका हुन् । त्यसो त सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले मात्रै नभएर सांसदहरुले समेत उनका विषयमा चासो व्यक्त गर्न थालेका छन् ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले जिबी राईलाई पक्राउ गर्न गृहमन्त्रीलाई आग्रह गरेका छन् भने रास्वपाका सांसद पुकार बमले समेत जिबी राईका विषयमा बोलेका छन् । यद्यपि पुकार बमको बोलीले भने धेरौलाई झस्काइदिएको छ । उनले जिबी राई जिवित रहेछन् भने नेपाल ल्याउँने कुरा एक अन्तर्वार्तामा बताएपछि यसले सामाजिक सञ्जाल तरंगित भएको छ । जिवि राई जिवित भए ल्याउँने भन्ने कुराको अर्थ के हो भन्दै सामाजिक सञ्जालमा प्रश्नको वर्षा भइरहेको छ । सत्तारुढ दलका जिम्मेवार सांसदले नै किन आशंकायुक्त कुरा गरे भन्दै प्रश्न उब्जिएको हो । यद्यपि जिबी राईलाई ल्याउँदा ४६ सालपछिका धेरै शीर्षस्थ नेताहरुको उठीबास हुने उनको भनाई रहेको छ । ग्यालेक्सी फोर के टेलिभिजनका सञ्चालक समेत रहेका राई सहकारीको करोडौं रुपैंयाँ अपचलन गरेर फरार रहेका छन् । उनीविरुद्ध विभिन्न अदालतमा सहकारी अपचलन सहितका अनेकन मुद्दाहरु छन् ।

जिबी राईलाई पक्राउ गर्ने भन्दै यसअघिका सरकारहरुले नै प्रयास गरेपनि त्यो सम्भव नभएको र उनी भागेर विदेश पुगेको भनिएको थियो । रवि लामिछाने गृहमन्त्री भएका बेलामा पनि जिबी राईका विषयमा प्रश्न उठेको थियो भने त्यसपछि गृहमन्त्री भएका रमेश लेखकका पालामा पनि जिबी राईका विषयमा प्रश्न उठेको थियो । त्यसो त नारायणकाजी श्रेष्ठ गृहमन्त्री भएका बेलामा पनि उनका विषयमा सोधीखोजी भएको थियो । तर, सोधीखोजी भएपनि उनी भने भागेर मलेसिया पुगेको खबर त्यसबीचमा सञ्चार माध्यमहरुमा सार्वजनिक भयो । रास्वपाका सभापति समेत रहेका तत्कालिन गृहमन्त्री रवि लामिछानेलाई जिबी राईका विषयमा बारम्बार प्रश्न सोध्ने गरिन्थ्यो । एकपटक भने लामिछानेले आफू सरकारमा आउँनु भन्दा अगावै राईलाई त्यसअघिको सरकारले भगाएको आरोप लगाएका थिए । उनको आरोप भने पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठतर्पm लक्षित थियो । जिबी राई भागेका हुन् या भगाइएको त्यो उनीहरु नै जानून् तर, पछिल्ला दिनमा मै हुँ भन्ने उच्चपदस्थहरु समेत धमाधम पक्राउ परिरहँदा जिबी राईका विषयमा अत्तोपत्तो नहुनुले भने आशंका पैदा गरेको छ ।

जिबी राई मलेसिया पुगेको भन्ने खबर एकताका सार्वजनिक भएको थियो । उनी अहिले मलेसियामा नै छन् या कहाँ भन्ने एकिन छैन । मलेसियामा भएको भए पनि या अन्य देशमा भएपनि उनका विषयमा सरकारले सत्यतथ्य सार्वजनिक गर्नैपर्छ । राई आकाशमा भएपनि पातालमा भएपनि ल्याएरै छाड्ने प्रतिबद्धता कुनैबेला रास्वपाका सभापति रवि लामिछानेले दिएका थिए । अहिले लामिछाने नेतृत्वको पार्टीले प्रतिनिधिसभामा झण्डै दुई तिहाई मत ल्याएर शक्तिशाली सरकार बनाएको छ । सरकारमा सुदन गुरुङ जस्ता उर्जावान् व्यक्ति गृहमन्त्री छन् । जसको रफ्तारको यतिबेला वाहवाही भइरहेको छ । यस्तो समयमा जिबी राईका विषयमा चाहिँ अत्तोपत्तो नहुनु आफैंमा राम्रो कुरा होइन । शक्तिशाली सरकार, शक्तिशाली गृहमन्त्री अनि शक्तिशाली पार्टीका सभापतिमाथि यो प्रश्न सामाजिक सञ्जालमार्फत तेर्सिन थालेको छ भने सांसदहरुले समेत यो कुरा उठाउँन थालेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार