काठमाडौं। रामचन्द्र पौडेल ले गणतन्त्रले नागरिकलाई सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता दिएको भन्दै यसलाई राष्ट्र निर्माणको महान् प्रेरणा र अभिभारा भएको बताएका छन् ।
१९औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले गणतन्त्रले देशवासीलाई एकताबद्ध बनाएको, साझा राष्ट्र निर्माणको संकल्पमा अभिप्रेरित गरेको तथा नागरिकलाई आफ्नो जाति, भाषा, धर्म, संस्कृति र भूमिमाथिको स्वामित्वको अनुभूति दिलाएको उल्लेख गरे।
उनले गणतन्त्रको मर्यादा जोगाउन तथा यसलाई थप समृद्ध बनाउन राजनीतिक निष्ठा, मूल्य–मान्यता र आचरणमा परिवर्तन आवश्यक रहेको बताए। सामाजिक न्याय, विकास र समृद्धिसहित संघीय लोकतान्त्रिक गणतन्त्रको सार्थक अभ्यासमा अघि बढ्न गणतन्त्र दिवसले थप प्रेरणा दिएको उनको भनाइ थियो ।
राष्ट्रपति पौडेलले मुलुकमा हाल बनेको बलियो जनादेशसहितको सरकारले सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र सामाजिक उन्नतिलाई प्राथमिकतामा राखेको उल्लेख गरे। सरकारले अघि सारेका शासकीय सुधारका एक सय कार्यसूची कार्यान्वयन भएपछि जनतामा आशा जाग्ने विश्वास समेत उनले व्यक्त गरे।
राजनीतिक परिवर्तन मात्रै पर्याप्त नहुने उल्लेख गर्दै उनले राज्यसत्ताको चरित्र, राजनीतिक संस्कार र शासकीय व्यवहारमा समेत परिवर्तन आवश्यक रहेको बताए।





