काठमाडौँ । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिको कार्यावधि थप गरिएको छ ।
सरकारले तोकेको म्याद सोमबार सकिएपछि समितिले गरेको आग्रहबमोजिम आजबाट लागू हुने गरी पाँच दिनका लागि म्याद थपिएको समितिका अध्यक्ष अच्युतप्रसाद भण्डारीले जानकारी दिए । तोकिएको थप समयभित्रै बाँकी कार्य सम्पन्न गरी प्रतिवेदन बुझाउने अध्यक्ष भण्डारीले बताए ।
गत वैशाख २८ गते उच्च अदालतका पूर्वन्यायाधीश भण्डारीको नेतृत्वमा गठित तीन सदस्यीय समितिले सांसद गुरुङको सम्पत्ति विवाद, व्यवसायी दीपक भट्ट संलग्न कम्पनीको सेयर स्वामित्व, जग्गा हदबन्दी र अन्य विवादित विषयमा केन्द्रित रहेर छानबिन गरिरहेको छ ।
समितिले यसअघि नै गुरुङको बयान लिइसकेको छ भने विभिन्न कार्यालयहरूबाट सम्बन्धित कागजात तथा प्रमाण संकलनको कार्य जारी राखेको छ । केही थप प्रमाणहरूको प्रतीक्षामा रहेको र ती सबै संकलन भइनसकेकाले म्याद थपिएको हो ।
विवादित सम्पत्ति विवरण सार्वजनिक भएपछि चौतर्फी आलोचना खेपेका गुरुङले गत वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए ।
सोही प्रकरणको गम्भीरतालाई ध्यानमा राख्दै गठन गरिएको उक्त समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने सदस्य रहेका छन् । समितिले आफ्नो अनुसन्धानलाई निष्कर्षमा पुर्याउने अन्तिम तयारी गरिरहेको छ।





