काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्यका संयन्त्रलाई उत्ताउलिएर धेरै अगाडि नबढ्न चेतावनी दिएका छन् ।
पार्टीको केन्द्रीय संगठन विभागद्वारा आयोजित सदस्यता नवीकरण तथा विस्तार–उत्प्रेरणा कार्यशालामा सदस्यता नवीकरण कार्यशालालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको स्थिति धेरै नचल्ने बताए । उनले परिस्थिति सधैं एकनास नहुने भएको राज्यका संयन्त्रलार्य ख्याल गर्न आग्रह गरे ।
उनले विगतमा राणा शासन, पञ्चायती तानाशाहीसमेत ढलेकाले यो अराजकतन्त्र पनि धेरै नचल्ने बताए । उनले भने, ‘राज्य संयन्त्रमा रहेका संस्था र व्यक्तिहरुलाई म भन्न चाहन्छु, समय र परिस्थिति एकैनासको रहँदैन । उत्ताउलिएर धेरै अगाडि नबढ्नुहोला । राणा शासन ढले, पञ्चायती तानाशाही ढले, राजतन्त्र ढलेयो अराजकतन्त्र कति समयको पाहुना हो । यो अराजकतन्त्र धेरै चल्न सक्दैन ।’
उनले अहिले सरकार पूर्वाग्रही ढंगले अघि बढेको पनि बताए। उनले भने, ‘यो राज्य होइन, पूर्वाग्रहको पोको हो ।’ उनले भदौ २३ र २४ को घटनालाई ‘पचाउने’ प्रयास भएको बताए ।
आफू बाबुको किरिया बसेर सकेलगत्तै सरकारले बिना आधार पक्राउ पूर्जी थमाएको उनले बताए । उनले प्रश्न गरे, ‘गौरीबहादुर कार्कीको हावा प्रतिवेदनका आधारमा पक्राउ पूर्जी दिने, पक्राउ गर्ने?’
अध्यक्ष ओलीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगलाई आफूले बयान नदिएको बताए । उनले भने, ‘बयान दिएन तर आयोगले बयान दियो भनेर छाप्यो । आयोगले प्रश्नपत्र पठाएको थियो । बुझ्दिनँ मान्यता दिन्नँ भनेर मैले पठाइदिएको थिएँ । किन बयान दिन्न त्यो कारण पनि बताइएको थिएँ ।’





