काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आजदेखि तीन दिने भारतको औपचारिक भ्रमण जाँदैछन्। आफ्ना भारतीय समकक्षी एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा उनले भारत भ्रमण गर्न लागेका हुन् ।
भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री डा. जयशङ्करसँग औपचारिक भेटवार्ता गर्नेछन् । व्यापार, लगानी, सम्पर्क, ऊर्जा तथा जनस्तरका सम्बन्धलगायत प्रमुख क्षेत्रमा सहयोग विस्तार गर्ने उद्देश्यका साथ दुवै पक्षले आपसी हितका विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । यस भ्रमणले नेपाल र भारतबिचको दीर्घकालीन तथा बहुआयामिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।
पराष्ट्रमन्त्रीको भारत भ्रमणको पूर्वसन्ध्यामा नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) को नेपालतर्फका संयोजक डा भेषबहादुर थापाले इपिजी प्रतिवेदन राखिएको दराजको साँचो परराष्ट्र मन्त्रालयलाई बुझाएका छन् । संयोजक थापाले विहिबार परराष्ट्रमन्त्री शिशिर खनालको समुपस्थितिमा परराष्ट्रसचिव अमृतबहादुर राईलाई साँचो हस्तान्तरण गरेका हुन् ।
नेपाल र भारतबीचका समस्याका बारेमा अध्ययन गरी समाधानका उपाय खोज्न संयुक्त रूपमा प्रबुद्ध व्यक्तिहरूको समूह गठन गरिएको थियो । सन् २०१६ मा नेपाल र भारतले उक्त समूह गठन गरी दुई वर्षसम्म अध्ययन गरी समूहले प्रतिवेदन तयार गरेको थियो ।
उक्त प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीले बुझ्नुपर्ने प्रावधान भए पनि हालसम्म दुवै देशका प्रधानमन्त्रीले नबुझेको प्रतिवेदन राखेको दराजको चाँवी एक्कासी भारत भ्रमणको अघिल्लो दिन किन आवश्यक पयो भन्नेबारे विभिन्न चर्चा भइरहेका छन् ।





