Logo
२५ जेष्ठ २०८३, सोमबार
|  Tue Jun 9 2026

रास्वपा सिरहा अधिवेशनमा झडप,निर्वाचन प्रक्रिया मंगलबारसम्म प्रभावित


जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सिरहा जिल्ला अधिवेशनमा नेतृत्व चयनको विषयलाई लिएर दुई समूहबीच झडप भएको छ।

सोमबार दिउँसो जिरोमाइलस्थित अधिवेशनस्थलमा भएको कुटाकुटमा र्‍यापिड एक्सन टिम (आरएटी) का जिल्ला प्रमुख दिनेश थापासहित केही कार्यकर्ता घाइते भएका छन्।

जिल्ला कार्यसमितिको नेतृत्व कसले पाउने भन्ने विषयमा विवाद चर्किएपछि अधिवेशनस्थल तनावग्रस्त बनेको थियो। सभापति पदका आकांक्षी सुभाष यादव, रामसोगारथ यादव र वर्तमान सभापति हरि मैनालीबीच नेतृत्व चयनको विषयमा मतभेद देखिएको छ।

रामसोगारथ यादवले आफूलाई सर्वसम्मत रूपमा सभापति चयन गर्नुपर्ने अडान राख्दै आएका छन् भने सुभाष यादव र हरि मैनालीले निर्वाचनमार्फत नेतृत्व चयन हुनुपर्ने माग गर्दै आएका छन्। यही विवादले उग्र रूप लिएपछि कार्यकर्ताबीच हात हालाहालको अवस्था सिर्जना भएको बताइएको छ।

अधिवेशन विवादित बनेपछि पार्टीको केन्द्रीय निर्वाचन आयोगले नेतृत्व चयन प्रक्रिया मंगलबार बिहान ९ बजेसम्मका लागि स्थगित गरेको छ। आयोगका प्रमुख भुवन केसी ले जारी गरेको विज्ञप्तिमा मंगलबारदेखि पुनः निर्वाचन प्रक्रिया सञ्चालन गरिने उल्लेख गरिएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार