Logo
२७ जेष्ठ २०८३, बुधबार
|  Wed Jun 10 2026

पोखरा-दुबई रुटमा सिधा हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति


गण्डकी । फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान सेवा सुरु गर्ने भएको छ । आगामी सेप्टेम्बर २३ देखि दुबई–पोखरा–दुबई दैनिक उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईलाई अनुमति दिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताए ।

फ्लाई दुबईको टोलीले केही दिनअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी निरीक्षण गरेको थियो । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको केही समयमै फ्लाई दुबईले उडान अनुमति पाएको हो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फ्लाई दुबईले उडान अनुमति पाएसँगै नेपालको तेस्रो अन्तर्राष्ट्रिय हवाई प्रवेशद्वारका रूपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्त्वपूर्ण प्रगति भएको बताए ।

हालसम्म छिमेकी केही देशमा ‘चार्टर’ उडानबाहेक पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । झन्डै रु २२ अर्ब ऋणमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक उडानमा मात्र सीमित छ । सन् २०२३ को जनवरी १ मा यस विमानस्थलको उद्घाटन भएको थियो ।

सन् २०२५ मार्चमा निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले पहिलोपटक पोखरा–ल्हासा नियमित व्यावसायिक उडान सुरु गरे पनि त्यो लामो समय टिक्न सकेन । गत मार्च २३ बाट हिमालय एयरलाइन्सले पोखरा–ल्हासा उडान सेवा बन्द गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार