काठमाडौं । नेपाली कांग्रेसका सांसद निश्कल राईले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई कडा प्रश्न गरेका छन् । विज्ञ अर्थमन्त्रीको रूपमा कहलाइएका वाग्लेले केही राम्रा कार्यक्रम ल्याए पनि सार्वजनिक आर्थिक विधेयक भने आफूखुसी पटक–पटक चलाएर गल्ती गरेको उनले दाबी गरे ।
राईले प्रश्न गरे, ‘कसको स्वार्थ र इशारामा करका दरहरू पटक–पटक परिवर्तन गर्नुभयो ? उनले थप भने, ‘संविधानको मर्मअनुसार कुनै पनि विधेयक संसदको सदनमा पेस भइसकेपछि त्यो सदनको सम्पत्तिको रूपमा रहन्छ । सरकारले त्यसलाई आफूखुसी बदल्न र सच्याउन पाउँदैन । अर्थमन्त्रीज्यू संसदभन्दा माथि हुनुहुन्न ।’
अर्थमन्त्री वाग्लेको यो कदम गैरकानुनी मात्र नभई, उनकै भाषामा राजद्रोह रहेको उनले टिप्पणी गरे । उनको कदम विधि निर्माणको सिद्धान्तविरुद्ध मात्र होइन, संसदको अनुमतिबिना कर ल्याउन नपाइने व्यवस्थाविरुद्ध समेत रहेको दाबी गर्दै उनले यसको छानबिन हुनुपर्ने समेत माग राखे ।





