Logo
२९ जेष्ठ २०८३, शुक्रबार
|  Sat Jun 13 2026

समितिको प्रतिवेदन सार्वजनिक नगरी पुनः गृहमन्त्री बनाइएमा कांग्रेसको आपत्ति


काठमाडौं । नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले सरकारले सुशासनको नारासँग मेल नखाने काम गरेको आरोप लगाएका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा सांसद खड्काले गृहमन्त्रीमाथि प्रश्न उठेपछि छानबिन समिति गठन गरिएको स्मरण गराउँदै उक्त समितिको प्रतिवेदन सार्वजनिक नगरी सम्बन्धित व्यक्तिलाई पुनः गृहमन्त्री बनाइएको भन्दै आपत्ति जनाए ।

उनले छानबिन समितिले प्रतिवेदन बुझाइसकेको चर्चा भएपनि त्यसलाई सार्वजनिक नगरिएको उल्लेख गर्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाए । खड्काले एकातिर सुशासनको नारा लगाउने र अर्कोतर्फ विवादमा परेकाहरूलाई नै जिम्मेवारी दिने काम भइरहेको टिप्पणी गरे ।

उनले भने, ‘एकातिर सुशासनको नारा लगाउने तर अर्कोतिर प्रश्न उठेका आफ्नोलाई पुरस्कृत गर्ने काम भइरहेको छ । सरकार आफैँ धामी, आफैँ पुरस्कृत गर्दै हिँड्ने भयो । क्रमभंगता र सुशासनको गफ हाक्न छोडौँ ।’

सांसद खड्काले सरकारले सुशासन र पारदर्शिताप्रति प्रतिबद्ध रहेको दाबी गरे पनि व्यवहारमा त्यसअनुसार काम नगरेको आरोप लगाए ।
उनले सरकार आफैं न्यायाधीश र आफैं पुरस्कार दिने भूमिकामा देखिएको भन्दै सुशासनका विषयमा केवल भाषणभन्दा व्यवहारमा सुधार आवश्यक रहेको बताए ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार