काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि संघर्ष र बलिदान गरेका नेपाली जनताको चाहना भनेको नै सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह, मुलुकको तीव्र विकास, शान्ति र प्रगति भएको बताएका छन् ।
लोकसेवा आयोगको ७६ औं वार्षिकोत्सवमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले जनताको यो अभिष्ट पूरा गर्न आधुनिक समयमा हाम्रो राज्य संयन्त्रलाई समयानुकुल अझ जनमुखी, सेवामुखी, प्रविधिमैत्री र परिणाममुखी बनाउन जरुरी रहेको बताए ।
राष्ट्रपति पौडेलले संविधानले अङ्गीकार गरेको समावेशी लोकतन्त्रको मर्म अनुरुप स्थापित योग्यता प्रणालीको रक्षा गर्नु र यसको जगलाई थप मजबुत बनाउनु पर्ने खाँचो अझै रहेको स्पष्ट पारे । उनले लोकसेवा आयोग सरकारी सेवामा कर्मचारी छनौट र भर्ना गर्ने एउटा महत्वपूर्ण निकाय भएको उल्लेख गर्दै यसले सदैव असल र उम्दा कर्मचारी छनौट गर्न सक्ने गरी आफ्ना कामलाई आधुनिक प्रविधिमा आधारित बनाउदै कर्मचारी छनौटमा समयसापेक्ष परीक्षण विधि/प्रविधि अवलम्बन गर्दै जानुपर्नेतर्फ विशेष ध्यान दिनुपर्ने बताए ।
राष्ट्रपति पौडेलले लोकसेवा आयोगको कार्यक्षेत्र विस्तारसँगै आफ्ना कार्य सम्पादनलाई प्रविधिमैत्री, वैज्ञानिक, व्यवस्थित र गुणस्तर कायमै राखी भावी योजना तय गर्नुपर्ने चुनौती रहेको भन्दै वार्षिकोत्सवको क्षणमा विगतको कामको समिक्षा र भावी चुनौतीलाई सामना गर्ने गरी योजना तय गर्न सुझाव दिए।
उनले राज्य सञ्चालनमा आवश्यक सरकारी निकायमा स्थायी सरकारका रुपमा रहने योग्य कर्मचारी छनौट गर्ने संवैधानिक जिम्मेवारी पाएको लोकसेवा आयोगले साढे सात दशक लामो अवधिमा “योग्यता, निष्पक्षता र स्वच्छता” जस्तो मूल सिद्धान्तको जगमा रहेर प्रभावकारी तवरले कार्य सम्पादन गर्नु खुसीको विषय भएको बताए ।





