काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले वास्तविक सुकुमवासीको पहिचान नगरी सरकारले डोजर आतंक मच्चाएको भन्दै गम्भीर आपत्ति जनाएका छन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले सरकारको पछिल्लो कदमले सुकुमवासीहरूमा त्रास सिर्जना गरेको र उनीहरूको संवैधानिक अधिकार हनन् भएको बताए । सांसद केसीले नदी किनार, वन क्षेत्र र सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरूमाथि कारबाही गर्ने सरकारको सुरुवाती प्रयास साहसिक देखिए पनि अहिले त्यो दुस्साहसमा परिणत भएको टिप्पणी गरे ।
सुकुमवासी बस्तीमा डोजर चलाउँदा वास्तविक सुकुमवासीहरू भोकभोकै बस्नुपर्ने अवस्था आएको र बालबालिकाहरू विद्यालय जानबाट वञ्चित भएको उनको भनाइ थियो ।
केसीले सुकुमवासी विस्थापनको क्रममा भएका दुःखद् घटनाहरूको विवरण प्रस्तुत गरे । उनकाअनुसार विस्थापनको तनावका कारण इन्द्रबहादुर राईले बागमतीमा हाम फालेको, १७ वर्षीय रविन तामाङले आत्महत्या गरेको र शान्तिनगरमा रवि तामाङकी श्रीमतीको हृदयघातका कारण मृत्यु भएको छ ।
त्यस्तै, कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा भोजराज दर्जीको मृत्यु भएको घटनाले स्थिति भयावह बनेको उनले बताए । सांसद केसीले एम्नेस्टी इन्टरनेसनल र विभिन्न मानव अधिकारवादी संस्थाहरूले समेत यस विषयमा गम्भीर चासो व्यक्त गरेको बताउँदै सरकारको ध्यानाकर्षण गराए ।





