काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीले प्रधानमन्त्री कार्यालयबाट भइरहेका गतिविधिप्रति आपत्ति जनाएकी छन् ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा सांसद ओलीले प्रधानमन्त्री कार्यालयका सल्लाहकार र सहयोगीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीहरूलाई झण्डै ९ घण्टासम्म नियन्त्रणमा राखेर आफू अनुकूल कदम चाल्न दबाब दिएको समाचार सार्वजनिक भएको भन्दै सरकारको जवाफ माग गरेकी हुन् ।
उनले यदि यो समाचार सत्य हो भने यो संवैधानिक निकायको स्वतन्त्रतामाथि गरिएको प्रत्यक्ष हस्तक्षेप भएको बताइन् । त्यस्तै उनले प्रधानमन्त्री कार्यालयमा विदेशी राजदूतमाथि दुव्र्यवहार भएको भन्ने कुराले अन्तर्राष्ट्रिय समुदायमा नेपालको छवि र विश्वसनीयतामा आँच पुगेको बताइन् ।
उनले कूटनीतिक नियोगका प्रतिनिधिहरूको मर्यादामाथि प्रश्न उठ्ने गरी भएको व्यवहारले नेपालको कूटनीतिक संस्कारलाई कमजोर बनाएको बताइन् ।




