Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

जेनजी आन्दोलनको प्रतिवेदन उपलब्ध गराउन माग गर्दै आयोगमा ओलीको निवेदन


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘जेनजी आन्दोलन’ सम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन माग गर्दै राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दिएका छन् ।

अध्यक्ष ओलीका तर्फबाट एमाले नेता महेश बर्तौलाले शुक्रबार आयोगका सचिव मुरारी खरेललाई भेटेर निवेदन दर्ता गराएका हुन् ।

निवेदनमार्फत ओलीले गत भदौ २३ र २४ गते भएका घटनाबारे आयोगले गरेको छानबिन तथा अनुसन्धान प्रतिवेदन, निर्णय र त्यससँग सम्बन्धित सम्पूर्ण कागजात उपलब्ध गराउन माग गरेका छन्। साथै, आयोगले लिएको बयान तथा संकलित कागजातहरूको प्रतिलिपिसमेत उपलब्ध गराउन आग्रह गरेका छन्।

उनको निवेदनमा भनिएको छ, ‘आयोगले संविधान र कानूनविपरीत कारबाहीको सिफारिस गरेको अवस्था देखिँदा र यसबाट मलाई समेत प्रत्यक्ष असर परेको हुँदा यस सम्बन्धित निर्णय वास्तविक हो वा होइन ? यस्तो निर्णय र निष्कर्षमा पुग्दा कस्तो तथ्य, प्रमाणहरू संकलित भए भन्ने विषय थाहा पाउनु मेरो अधिकार हो ।आयोगले नागरिकको आफ्नैविरुद्धमा भएको भनिएको निर्णय र सो निर्णयको आधारको रूपमा रहेको छानबिन वा अनुसन्धान प्रतिवेदन मलाई औपचारिक रूपमा पठाउने छ भन्ने कुरामा म विश्वस्त थिएँ । तर नियतवश म समेतलाई लाञ्छित गर्ने गरी गरिएको निर्णय गरिएको भनी सार्वजनिक भएको तीस दिन हुन लाग्दासमेत मलाई सोको औपचारिक जानकारी नदिएको हुँदा यो निवेदन पेश गरेको छु ।’

निवेदनमा उनले आयोगले आफ्नोविरुद्ध सार्वजनिक भएको निर्णयको औपचारिक जानकारी हालसम्म नदिएको भन्दै त्यसको आधारसहितको प्रतिवेदन उपलब्ध गराउन माग गरेका छन् । आयोगले ओलीलाई दोषी करार गर्दै कारबाहीको सिफारिस गरेको थियो । तर ओलीले आयोग पूर्वाग्रही भएको भन्दै आलोचना गर्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार