काठमाडौं । नेपाली कांग्रेसका सांसद खड्कबहादुर बुढाले वर्तमान सरकारको सुशासन र संवैधानिक निकायहरूको स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा उनले पासपोर्ट छपाइ तथा खरिद प्रक्रियासम्बन्धी विषयमा बाहिर आएका समाचारहरूले देशमा सुशासन र कानुनी शासनमाथि प्रश्न उठाएको बताए ।उनले कुनै पनि अनियमितता भएको प्रमाणित भएमा दोषी जोसुकै भए पनि पद वा पहुँच जस्तोसुकै भए पनि कानुनी कारबाहीको दायरामा आउनुपर्ने स्पष्ट पारे ।
बुढाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखलाई प्रधानमन्त्री कार्यालयमै बन्धकजस्तो बनाएर धम्की दिइएको भन्ने सञ्चारमाध्यमका समाचारप्रति पनि चिन्ता व्यक्त गरे । उनले प्रधानमन्त्रीले समेत उक्त विषय स्वीकार गरेको दाबी गर्दै यस्तो परिस्थितिमा संवैधानिक निकायले निष्पक्ष रूपमा काम गर्न सक्ने वातावरण कमजोर हुने टिप्पणी गरे ।
उनले प्रधानमन्त्रीका सल्लाहकारहरूकै कारण संवैधानिक निकायमाथि दबाब सिर्जना भएको आरोप लगाउँदै सरकारको कामकारबाहीमाथि निष्पक्ष छानबिन हुनुपर्ने माग गरे ।
त्यस्तै, पासपोर्ट छपाइ सम्झौता खारेज गरी पुरानै कम्पनीलाई महँगो दरमा काम दिन दबाब दिइएको भन्ने समाचारप्रति पनि उनले आपत्ति जनाए । यसले भ्रष्टाचारको संकेत गर्ने भन्दै उनले सरकारले यस विषयमा गम्भीर छानबिन गर्नुपर्ने माग गरे ।
उनले पासपोर्ट खरिद प्रकरणको निष्पक्ष छानबिन हुनुपर्ने र दोषी जोसुकै भए पनि कारबाही हुनुपर्नेमा आफ्नो पार्टीको समर्थन रहने स्पष्ट पारे ।





