Logo
१९ असार २०८३, शुक्रबार
|  Sat Jul 4 2026

पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिन निर्देशन


काठमाडौँ ।  पशुसेवा विभागले कुनै पनि पन्छी फार्म वा बिक्रीस्थलमा अस्वाभाविक रूपमा धेरै सङ्ख्यामा पन्छी बिरामी परेमा वा मरेमा तुरून्त नजिकैको पशु सेवाका निकायमा जानकारी गराउन अनुरोध गरेको छ ।

विभागले बर्डफ्लुका भाइरसले स्वरुप परिवर्तन गर्न सक्ने जोखिम रहेकाले रोग नियन्त्रणमा लागि सबै सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

विभागका महानिर्देशक उमेश दाहालले फार्म परिसरमा जैविक सुरक्षाका विधि अवलम्बन गर्न, अण्डा राख्ने कागजको पुरानो क्रेट पुनः प्रयोगमा नल्याउन तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनपर्ने भएमा पूर्ण निःसङ्क्रमण गरेर मात्र भित्र्याउन व्यवसायीलाई अनुरोध गरे ।

कागलगायतका जङ्गली पन्छीसँग घरपालुवा पन्छी तथा पन्छीको दाना लसपस हुन नदिने गरी थुनेर पन्छीपालन गर्न सर्वसाधारणलाई सुझाव दिएको विभागले पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर गर्न/गराउन निर्देशन दिएको छ ।

विभागले बर्डफ्लु सङ्क्रमण भएका काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा करिब सात लाख पन्छी, करिब ११ लाख अण्डा र करिब तीन लाख किलो दाना नष्ट गरेको जनाएको छ ।

रोगलाई तत्काल नियन्त्रणका लागि विभागका उपमहानिर्देशक नेतृत्वमा रहने गरी बर्डफ्लु रोग नियन्त्रण कक्ष स्थापना गरी रोग देखापरेको क्षेत्रमा सङ्घ, प्रदेश तथा स्थानीय तहको समन्वय र सहकार्यमा आवश्यक जनशक्ति परिचालन गरी नियन्त्रण कार्य भइरहेको महानिर्देशक दाहालले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !
विचार