Logo
२० असार २०८३, शनिबार
|  Sat Jul 4 2026

कोसीपारीको माटोबाट ठमेलको नेतृत्वसम्म :प्रकाश श्रेष्ठद्वारा परिषद्को उपाध्यक्षमा दाबी


काभ्रेपलाञ्चोकको कोसीपारीस्थित सिम्थलीको साधारण परिवेशबाट संघर्षको यात्रा सुरु गरेर नेपालको पर्यटन क्षेत्रमा राजधानी ठमेलमा आफ्नो अलग पहिचान स्थापित गर्न सफल युवा पर्यटन व्यवसायी तथा समाजसेवी प्रकाश श्रेष्ठ अब नेतृत्वको नयाँ अध्याय लेख्न अघि बढ्नुभएको छ।

नेपालको पर्यटनको मुटु मानिने ठमेललाई सुरक्षित, व्यवस्थित, प्रविधिमैत्री, लगानीमैत्री र विश्वस्तरीय पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने स्पष्ट दृष्टि, अनुभव र योजनासहित श्रेष्ठले ठमेल पर्यटन विकास परिषद्को उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो। परिषद्को ३०औँ तथा ३१औँ वार्षिक साधारणसभा तथा नयाँ नेतृत्व चयनका लागि आगामी असार २७ गते (११ जुलाई २०२६) काठमाडौंको नयाँबजार मल्टि भेन्युमा हुने निर्वाचनमा उहाँ मैदानमा उत्रँदै हुनुहुन्छ।

वर्षौंदेखि ठमेलको पर्यटन तथा आतिथ्य क्षेत्रमा सक्रिय श्रेष्ठ व्यवसाय मात्र गर्ने व्यक्ति होइन, पर्यटन क्षेत्रका समस्या, सम्भावना र समाधानलाई नजिकबाट बुझेका कर्मशील अभियन्ता पनि हुनुहुन्छ। उहाँको विश्वास छ-ठमेल बलियो भए नेपालको पर्यटन बलियो हुन्छ, र पर्यटन बलियो भए देशको अर्थतन्त्रले नयाँ गति लिन्छ।

श्रेष्ठले आफ्नो उम्मेदवारीलाई पद प्राप्तिको अभियानभन्दा पनि पर्यटन क्षेत्रको पुनर्जागरणको अभियानका रूपमा अघि बढाउनुभएको छ। कोभिड–१९ महामारी र त्यसपछिको आर्थिक मन्दीले थिलथिलो बनेको पर्यटन व्यवसायलाई पुनर्जीवित गर्ने, व्यवसायीबीच विश्वास र एकता मजबुत बनाउने, नयाँ पुस्ताको नेतृत्वलाई संस्थागत गर्ने तथा अन्तर्राष्ट्रिय पर्यटकका लागि अझ सुरक्षित र आकर्षक ठमेल निर्माण गर्ने उहाँका प्रमुख एजेन्डा रहेका छन्।

“ठमेल केवल एउटा व्यापारिक क्षेत्र होइन, यो नेपालको पर्यटनको परिचय हो। यहाँका घरधनी, व्यवसायी, श्रमिक, पर्यटक र सम्पूर्ण सरोकारवालाको साझा हितलाई केन्द्रमा राखेर परिणाममुखी नेतृत्व दिने मेरो प्रतिबद्धता छ,” श्रेष्ठले बताउनुभयो।

समाजसेवामा पनि उत्तिकै सक्रिय श्रेष्ठले २०७२ सालको विनाशकारी भूकम्पपछि काभ्रेपलाञ्चोकका विद्यालयहरूमा शैक्षिक सामग्री तथा राहत वितरण गर्नुभएको थियो। कोभिड–१९ महामारीका कठिन समयमा विद्यालय, स्थानीय समुदाय तथा विपन्न परिवारलाई स्वास्थ्य सामग्री, राहत र आवश्यक सहयोग उपलब्ध गराउँदै उहाँले मानवीय सेवाको उदाहरण प्रस्तुत गर्नुभएको थियो।

ठमेलको सुरक्षा व्यवस्थापन, पर्यटनमैत्री वातावरण निर्माण, व्यवसायीहरूको हकहित संरक्षण र आधुनिक व्यवस्थापन प्रणालीका पक्षमा उहाँले विगतदेखि नै निरन्तर आवाज उठाउँदै आउनुभएको छ। यही अनुभव, सक्रियता र समर्पणले उहाँलाई परिषद्को नेतृत्वका लागि बलियो उम्मेदवारका रूपमा स्थापित गरेको छ।

स्थानीय व्यवसायी, रैथाने घरधनी, अग्रज पर्यटनकर्मी, पूर्व अध्यक्ष, युवा व्यवसायी तथा विभिन्न सामाजिक व्यक्तित्वहरूले श्रेष्ठको उम्मेदवारीलाई आशा र विश्वासका साथ हेरेका छन्। उहाँको नेतृत्वले ठमेलमा नयाँ सोच, नयाँ ऊर्जा र नयाँ कार्यसंस्कृतिको सुरुवात गर्ने अपेक्षा गरिएको छ।

कोसीपारीको माटोबाट उठेको एउटा संघर्षशील युवा आज नेपालको पर्यटनको केन्द्र ठमेलको नेतृत्वमा पुग्ने यात्रामा छ। यो केवल प्रकाश श्रेष्ठको उम्मेदवारी होइन, नयाँ पुस्ताको आत्मविश्वास, इमानदार नेतृत्व र नेपाली पर्यटनको उज्यालो भविष्यप्रतिको साझा प्रतिबद्धताको सशक्त घोषणा हो।


प्रतिक्रिया दिनुहोस !
विचार