काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संविधानका आधारभूत विशेषतालाई नचलाउन सरकारलाई सुझाव दिएका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा अध्यक्ष साम्पाङले संविधान संशोधनका विषयमा भइरहेका क्रियाकलापप्रति चिन्ता व्यक्त गर्दै संविधान संशोधनका नाममा संघीयता खारेजी गर्ने प्रपञ्च नगर्न सुझाव दिएका हुन् । उनले भने, ‘अरु के के गर्ने हो, गर्न सक्छौँ। तर संघीयता, समावेशिता र धर्मनिरपेक्षता तीन कुरा नछोइयोस् ।’
अध्यक्ष साम्पाङले संविधान संशोधनका क्रममा सङ्घीयता, समावेशी र धर्मनिरपेक्षतालाई चलाउन खोजे फेरि अर्को दुर्घटना निम्तिने चेतावनी दिए ।उनले हजारौँ हजार सहिदहरूको बलिदानीपछि प्राप्त व्यवस्थामाथि छेडखानी गर्न नहुने बताए । उनले बैठकमा नेपालको खोजीसमेत गरेका छन् ।
उनले सुशासन, भ्रष्टाचार नियन्त्रण र प्रभावकारी सेवा प्रवाहमा सरकारको १०० दिनको प्रयासप्रति धन्यवाद दिए । आफूले केही समयअघि महाकाली क्षेत्रको भ्रमण गरेको उल्लेख गर्दै उनले दार्चुला–टिङ्कर सडक निर्माणलाई तीव्रता दिन आग्रह गरे । अध्यक्ष राईले अब राष्ट्रिय गौरवको आयोजना सीमावर्ती क्षेत्रमा केन्द्रित गर्नुपर्ने बताए ।
सुकुम्वासी, अव्यवस्थित बसोबासीको पुनर्वासको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गर्दै उनले यथाशीघ्र धनीपूर्जा उपलब्ध गराउन सुझाव दिए । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्यालय बनाउन माग गर्दै उनले स्वास्थ्य सेवालाई विकेन्द्रित गर्न सुझाव दिए ।





