Logo
२२ असार २०८३, सोमबार
|  Mon Jul 6 2026

टेरामक्स प्रकरण:मोहन बस्नेतले पाए सफाइ,दिगम्बर झासहित तीनलाई कैद सजाय


काठमाडौँ । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको ‘टेरामक्स’ खरिदमा भएको भ्रष्टाचार मुद्दामा फैसला सुनाएको छ । अदालतले पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत र पूर्वसचिवलाई सफाइ दिएको छ भने प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासहित तीनजना उच्च अधिकारीलाई दोषी ठहर भएका छन् ।

विशेष अदालतका सदस्यहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले सो फैसला गरेको हो । जसअनुसार बस्नेतले मन्त्रीको हैसियतमा नीतिगत निर्देशन मात्र दिएको, खरिद प्रक्रियामा प्रत्यक्ष संलग्न नदेखिएको र व्यक्तिगत लाभ लिएको प्रमाण अभियोजन पक्षले पेश गर्न नसकेकाले उनलाई सफाइ दिइएको छ।

तत्कालीन अध्यक्ष झाले खरिद प्रक्रियामा बदनियत राखेको र अनिवार्य रूपमा गर्नुपर्ने पूर्वतयारी नगरी प्रक्रिया अगाडि बढाएको भन्दै उनलाई दोषी ठहर गरिएको हो । उनलाई ६ महिना कैद र ५० हजार रुपैयाँ जरिवाना तोकिएको छ । साथै, उच्च पदस्थ अधिकारी भएकाले भ्रष्टाचार निवारण ऐनको दफा २४ बमोजिम थप ६ महिना गरी कुल १ वर्ष कैद सजाय सुनाइएको छ ।

प्राधिकरणका तत्कालीन सदस्यहरू धनराज ज्ञवाली र टिकाप्रसाद उप्रेती लाई पनि दोषी ठहर गर्दै जनही ६ महिना कैद र ५० हजार रुपैयाँ जरिवाना गर्ने फैसला भएको छ । मुद्दा दायर गरिएका अन्य प्रतिवादीहरू पुरुषोत्तम खनाल, अच्युतानन्द मिश्रलगायत भेनराइज सोलुसन्सका एजेन्टहरूले पनि सफाइ पाएका छन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार