Logo
२४ असार २०८३, बुधबार
|  Thu Jul 9 2026

सुकुम्बासी परिवारकाबारेमा मानवताको मूल्य नबिर्सी निर्णय गर्न सरकारलाई कुलमानको सुझाव


काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सुकुम्बासी परिवारलाई उचित पुनर्वासको व्यवस्था गर्न माग गरेका छन् । सामाजिक संजालमार्फत घिसिङले सुकुम्बासीलाई पुनर्वासको व्यवस्था नगरी होल्डिङ सेन्टरमा राखिएको र अहिले फेरि उनीहरूलाई त्यहाँबाट पनि हटाउने तयारी भइरहेको भन्दै आपत्ति जनाएका हुन् ।

उनले भनेका छन्, ‘काठमाडौं उपत्यकाका विभिन्न नदी किनारबाट हटाइएका सुकुम्बासी परिवारलाई उचित पुनर्वासको व्यवस्था नगरी होल्डिङ सेन्टरमा राखियो। अहिले फेरि उनीहरूलाई त्यहाँबाट पनि हटाउने तयारी भइरहेको सार्वजनिक भएको छ। यसबाट सबैभन्दा ठूलो पीडा निर्दोष बालबालिकाले भोगिरहेका छन्। उनीहरूको पढ्ने अधिकार खोसिँदैछ, सुरक्षित बाल्यकाल खोसिँदैछ र भोलिको सपना अन्योलमा छ। एउटा सभ्य समाजको पहिचान त्यसले आफ्ना कमजोर र असहाय नागरिकसँग गर्ने व्यवहारबाटै झल्किन्छ। राज्यको दायित्व आफ्ना नागरिकलाई थप पीडा दिनु होइन, सम्मानका साथ बाँच्ने आधार सिर्जना गर्नु हो।’

उनले सरकारलाई मानवताको मूल्य नबिर्सी निर्णय गर्न आग्रह गरेका छन् । उनले भनेका छन्, ‘गरिब हुनु अपराध होइन, भूमिहीन हुनु कसैको रोजाइ होइन। यसैले यस समस्याको समाधान डोजर, विस्थापन र अस्थायी व्वस्थाबाट होइन–संवेदनशीलता, संवाद, न्यायपूर्ण पुनस्र्थापना र दीर्घकालीन नीतिबाट खोजिनुपर्छ। सुकुम्बासीका आँखाबाट बगेको प्रत्येक आँसु राज्यको संवेदनशीलताको परीक्षा हो। आज उनीहरूको पीडा देखेर पनि मौन बस्यौं भने भोलि मानवताको पक्षमा बोल्ने नैतिक अधिकार हामीसँग रहनेछैन।सम्बन्धित सबै निकायसँग हार्दिक आग्रह छ–कृपया निर्णय गर्नुहोस्,तर मानवताको मूल्य नबिर्सी। हरेक नागरिकको सम्मान, सुरक्षा र भविष्य सुनिश्चित गर्दै न्यायपूर्ण समाधानको बाटो रोज्नुहोस्।’


प्रतिक्रिया दिनुहोस !
विचार