काठमाडौं । नेकपा एमालेकी सांसद यशोदाकुमारी बरालले संसदको नियमावली सत्तापक्ष र प्रतिपक्ष दुवैका लागि समान रूपमा लागू हुनुपर्ने बताएकी छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले संसदमा बोल्ने क्रममा विषयवस्तुमा केन्द्रित हुन सभामुखले पटक–पटक आग्रह गर्नुपर्ने अवस्था आउनु दुःखद भएको बताइन् ।
उनले विरोध गर्ने क्रममा पनि निश्चित विषयभित्र रहेर आफ्ना धारणा राख्दा त्यसको औचित्य पुष्टि हुने बताइन् । विपक्षी बेन्चबाट एक जना सदस्यले प्रतिनिधित्व गर्दै बोलिसकेपछि दैनिक कार्यसूचीमा प्रवेश गर्न सबै सांसदलाई सहयोग गर्न उनले आग्रह गरिन् ।
सांसद बरालले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिसम्बन्धी विषय उठाउँदै संसदको रेकर्डबाट हटाउने वा रुलिङ गर्ने काम किन नभएको भन्दै प्रश्न गरिन् । उनले नियमावली प्रतिपक्षका लागि मात्रै हो कि सत्तापक्षका लागि पनि समान रूपमा लागू हुन्छ भन्ने स्पष्ट पार्न सभामुखमार्फत माग गरिन् ।
सांसद बरालले सुकुम्बासी नागरिकको अवस्थाबारे पनि सरकारको ध्यानाकर्षण गराइन् । गरिब नागरिकलाई विस्थापित गर्ने वा न्यून रकम दिएर सडकमा धकेल्ने काम मानवअधिकारको विषय भएको उनको भनाइ थियो । उनले सरकारका कतिपय निर्णयहरू लोकप्रियता कमाउने उद्देश्यले मात्रै आएको हो कि दीर्घकालीन विकासका लागि हो भन्ने प्रश्न गरिन् ।
सार्वजनिक यातायातको रङ परिवर्तन गर्ने निर्णयप्रति संकेत गर्दै उनले यस्ता कार्यक्रम देशभर प्रभावकारी रूपमा लागू हुने हो कि केवल प्रचारका लागि मात्रै गरिएको हो भन्ने प्रश्न उठाइन् ।





