काठमाडौँ । सर्वोच्च अदालतको अन्तरिम आदेशपछि सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण संकलन तथा छानबिनसम्बन्धी सम्पूर्ण प्रक्रिया अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरेको छ ।
आयोगले बिहीबार सार्वजनिक सूचना जारी गरी सर्वोच्च अदालतमा दायर भएको उत्प्रेषण रिट निवेदनमा बुधबार जारी अन्तरिम आदेशको सम्मान गर्दै सम्पत्ति विवरण संकलन र छानबिनका सबै काम तत्कालका लागि रोकिएको जनाएको हो ।
यसअघि सर्वोच्च अदालतको असार २९ गतेको आदेशपछि आयोगले सूचना प्रकाशित गरी पूर्वन्यायाधीश, संवैधानिक आयोगका पूर्व पदाधिकारी तथा नेपाली सेनाका पूर्व पदाधिकारीबाहेक सार्वजनिक जवाफदेहीको जिम्मेवारी निर्वाह गरेका राजनीतिक पदाधिकारी र कर्मचारीहरूको सम्पत्ति विवरण संकलनको प्रक्रिया अघि बढाएको थियो।
तर, मणिराम उपाध्याय निवेदक रहेको रिटमा सर्वोच्च अदालतले अन्तिम फैसला नभएसम्म कसैबाट पनि सम्पत्ति विवरण संकलन तथा छानबिन नगर्न/नगराउन अन्तरिम आदेश जारी गरेपछि आयोगले सम्पूर्ण प्रक्रिया स्थगित गर्ने निर्णय गरेको हो ।
आयोगले अर्को सूचना प्रकाशित नभएसम्म सम्पत्ति विवरण संकलन र छानबिनसम्बन्धी कुनै पनि कार्य नहुने जानकारी दिएको छ।





