धनगढी । चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारलगायत विभिन्न माग राख्दै कैलालीको धनगढीस्थित कृष्ण मन्दिरमा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि शनिबार उनलाई सेती प्रादेशिक अस्पताल भर्ना गरिएको छ।
अनशनको तेस्रो दिन डा. केसीको शरीरमा सुगरको मात्रा ५० सम्म झरेपछि उपचारका लागि अस्पताल लैजानुपरेको उनका सहयोगी डा. अमृत जैसीले जानकारी दिए। स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि चिकित्सकको निगरानीमा राखिएको अस्पताल स्रोतले जनाएको छ।
यसैबीच डा. केसीको अनसनविरुद्ध स्थानीयवासीले कृष्ण मन्दिर परिसरमा नाराबाजी गरेका छन्। प्रदर्शनकारीहरूले सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको प्रक्रिया अगाडि बढिरहेका बेला अनसनले त्यसमा अवरोध सिर्जना गर्न सक्ने भन्दै तत्काल अनसन अन्त्य गर्न माग गरेका थिए। उनीहरूले केही स्वार्थ समूहले विश्वविद्यालय स्थापनाको प्रक्रियालाई प्रभावित पार्ने उद्देश्यले डा. केसीलाई अघि सारेको आरोपसमेत लगाए।
यद्यपि उक्त आरोपबारे स्वतन्त्र पुष्टि भएको छैन। नाराबाजी चर्किएपछि सम्भावित तनावलाई मध्यनजर गर्दै सुरक्षाकर्मी परिचालन गरिएको थियो। प्रदर्शनका बीच सुरक्षा व्यवस्थासहित डा. केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगिएको थियो। घटनाका क्रममा कुनै अप्रिय अवस्था भने सिर्जना भएन।
सुदूरपश्चिममा लामो समयदेखि बहुप्रतीक्षित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको तयारी भइरहेका बेला डा. केसीको अनसनले नयाँ बहस सिर्जना गरेको छ। एकातर्फ चिकित्सा शिक्षा सुधार, गुणस्तर र नीतिगत मागप्रति समर्थन जनाउने पक्ष छन् भने अर्कोतर्फ विश्वविद्यालय सञ्चालनमा ढिलाइ हुन नहुने भन्दै स्थानीय तहमा असन्तुष्टि पनि देखिएको छ।
डा. केसीले चिकित्सा शिक्षा सुधार, स्वास्थ्य सेवा सुदृढीकरण तथा आफ्ना विभिन्न माग पूरा गर्न दबाबस्वरूप २४औँ अनशन सुरु गरेका हुन्। उनको स्वास्थ्य अवस्था र आन्दोलनको आगामी दिशा तथा सरकारसँग हुने सम्भावित वार्तालाई अहिले चासोका साथ हेरिएको छ।
परीक्षणका क्रममा डा. केसीको रक्तचाप ११०/९० र रक्तमा सुगरको मात्रा ५० रहेको पाइएको थियो । सुगरको मात्रा अत्यन्त न्यून भएकाले स्वास्थ्य अवस्था जटिल बन्दै गएको चिकित्सकले बताएका छन् ।
चिकित्सकले तत्काल सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरी उपचार गर्न सुझाव दिएका थिए । सोही अनुसार उनलाई अस्पताल लगिएको हो ।
डा. केसी बिहीबारदेखि विभिन्न पाँच बुँदे माग राख्दै धनगढीस्थित कृष्ण मन्दिर धर्मशालामा २४औं सत्याग्रहमा बसेका हुन् । डाक्टर केसीका सहयोगी अमृत जैशीकाअनुसार स्वास्थ्य अवस्था बिग्रिदै गएपछि मांसपेशी बाउडिने, बोल्न पनि असहज हुने, खुट्टाको अप्रेसन गरेका कारण हिँडडुल गर्न पनि कठिन भएपछि बाथरुम जान पनि समस्या भइरहेको छ ।
केसीले उठाएका माग सम्बोधन गर्न सरकार तयार रहेको शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताइसकेका छन् । शुक्रबार साँझ डा. केसीका सहयोगी जैशीसँग कुरा गरेका मन्त्री पोखरेलले राति ११ बजेतिर स्वयंम केसीसँगै फोन संवाद गरेका थिए ।
संवादका क्रममा पोखरेलले सरकार माग सम्बोधन गर्न प्रतिबद्ध रहेको बताएका थिए । केसीले पाँच मागका अतिरिक्त सहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा तत्काल तीन सय शैयाको अस्पताल सञ्चालन गर्नुपर्ने, चिकित्सा शिक्षाको अध्ययन थाल्नुपर्ने र स्वार्थ प्रेरित भएर गरिएको उपकुलपति र रजिष्ट्रारको नियुक्ति खारेज गर्नुपर्ने बटमलाइन भएको बताएका थिए ।
जवाफमा मन्त्री पोखरेलले ती माग सम्बोधन गर्नेगरि वार्ता टोली गठन गर्ने र सम्भव भएमा आफैँ धनगढी आउने बताएको केसीका सहयोगी डा. जैशीले बताए ।





