Logo
१२ श्रावण २०८३, मंगलवार
|  Tue Jul 28 2026

पहिरोले धन्सार पुरिँदा भाटबेशीमा बाबु-छोरीको मृत्यु,दुई जना घाइते


लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटबेशीमा पहिरोले धन्सार पुरिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानेन्द्र क्षेत्रीका अनुसार मंगलबार बिहान करिब २ः३५ बजे चितिखोलाबाट भाटबेशीतर्फ ल्याइएको कुलो भत्किएपछि आएको पहिरोले स्थानीय विष्णुदत्त सुवेदीको दुईतले ढुंगा–माटोले बनेको कच्ची धन्सार पूर्ण रूपमा भत्किएको थियो ।

घटनामा पुरिएका चार जनालाई इलाका प्रहरी कार्यालय भोर्लेटारबाट प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माको नेतृत्वमा पुगेको टोलीले उद्धार गरी प्रारम्भिक उपचारका लागि चिसंकु स्वास्थ्य चौकी, रामबजार पठाएको थियो। त्यसपछि उनीहरूलाई थप उपचारका लागि पोखरास्थित पश्चिम क्षेत्रीय अस्पताल रिफर गरिएको थियो ।
उपचारका क्रममा मस्र्याङ्दी गाउँपालिका–१ नायुँ घर भई हाल मध्यनेपाल नगरपालिका–७ भाटबेशी बस्दै आएका ५९ वर्षीय टिकबहादुर विक र उनकी १५ वर्षीया छोरी विनिता विकलाई बिहान ५ः५५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

घटनामा ५० वर्षीया शुकमाया विक र १६ वर्षीया अस्मिता विक घाइते भएका छन्। उनीहरूको शरीरमा भित्री चोट लागेको प्रहरीले जनाएको छ। दुवै जनाको पोखरास्थित पश्चिम क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ र अवस्था मध्यम रहेको बताइएको छ। प्रहरीका अनुसार कुलो भत्किएपछि आएको पहिरोका कारण धन्सार भत्किँदा मानवीय क्षति भएको हो ।


प्रतिक्रिया दिनुहोस !
विचार