काठमाडौँ । नेकपा एमालेका उपमहासचिव पार्टीमा मुख्यमन्त्री परिवर्तनको विषयलाई लिएर भइरहेका क्रियाकलाप्रति आपत्ति जनाएका छन् ।
सामाजिक संजालमार्फत भट्टराईले मुख्यमन्त्री परिवर्तनका नाममा राम्रा नेतालाई विगतदेखि नै पखा लगाउने गरिएको र अहिले पनि त्यो क्रम जारी रहेको भन्दै आपत्ति जनाएका हुन् ।
उनले भनेका छन्, ‘नेकपाकाल ( २०७४ – २०७७) मा प्रदेशसभामा एमालेका सिनियर नेताहरू हुँदाहुँदै कर्णालीको मुख्यमन्त्री माओवादीतर्फÞका नेतालाई । कर्णालीमा समीकरण पटक/पटक अदलबदल भयो मुख्यमन्त्रीमा कहिले कांग्रेस त कहिले माओवादी । एमाले जहिल्यै बहुमत पुर्याइदिने पार्टी । पछिल्लो पटक जब एमाले र कांग्रेसको समीकरण बन्यो । कर्णालीको मुख्यमन्त्री एमालेले जसरी पनि लिने र सिनियर नेता यामलाल कँडेललाई मुख्यमन्त्री बनाउने भनेर एमाले सचिवालयको बैठकमा हामीले जोड दिएको सम्झना ताजै छ ।’
उपमहासचिव भट्टराईले राम्रो काम गर्दा गर्दै कर्णालीमा मुख्यमन्त्री परिवर्तन गर्न लागिएको भन्दै आपत्ति जनाएका छन् । उनले भनेका छन्, ‘पार्टीका पुराना नेता, केन्द्रीय सचिव र उहाँले प्रदेश सरकारको नेतृत्व गरे पश्चात कर्णाली सरकारको इमेज समेत सकारात्मक भएको र बजेट निर्माण, कार्यान्वयन र शुशासनका पक्षमा राम्रो काम भएको भन्ने आम कर्णालीवासीको बुझाई रहेको अवस्थामा यामलाल कँडेल र कर्णालीको पार्टीलाई नै सँजाय गर्नु पर्ने खण्ड खातिर के परेछ ?’
त्यस्तै भट्टराईले कसैलाई मुख्यमन्त्री बनाउनुपरे उचित कारण र तर्क पार्टी बैठकमा राखेर निर्णय गर्नुपर्नेमा त्यसो नगरिएको बताएका छन् । उनले भनेका छन्, ‘बाँकी मुख्यमन्त्रीहरू यथावत रहने कोशीका मुख्यमन्त्री हिक्मत कार्कीलाई हटाउने नाममा पार्टीभित्र किन रडाको मच्चाउनु परेको हो ? कसैलाई बनाउनु परे पनि उचित कारण र तर्क सहित पार्टीको केन्द्रीय निकाय, सम्बन्धित प्रदेशको पार्टी कमिटी र संसदीय दलमा छलफल गरेर टुंग्याउने सुल्टो बाटो किन नहिडेको होला ? नेतृत्वका उचित बाध्यता थिए भने हामीले पनि समझदारी राखथ्यौँ होला नि ? यही काम समझदारीकासाथ पारदर्शी ढंगले गर्न पनि त सकिंन्छ नि ? साटसुट, ठोक ठाक अनि शक्तिको भाषा किन ? कसैका बारेमा एउटा मापदण्ड अनि अरूका बारेमा थरी थरीका मापदण्ड ? प्रदेश सरकार र मुख्यमन्त्रीको मामला गिजोलेर के पौरखा गर्न खोजको हो ? बेला नकुबेला……. भनेझै ?’





