काठमाडौं । नेपाली कांग्रेसका सांसद निश्कल राईले प्रधानमन्त्रीले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै उक्त अभिव्यक्ति फिर्ता लिन, नेपाली जनतासँग क्षमा माग्न तथा संसद्को अभिलेखबाट हटाउन माग गरेका छन् ।
मंगलबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले जेठ अधिवेशनका क्रममा प्रधानमन्त्रीले संसद्को रोस्ट्रमबाट व्यक्त गरेको अभिव्यक्तिले नेपालको राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता र सम्पूर्ण नेपाली नागरिकको आत्मसम्मानमा गम्भीर चोट पुर्याएको बताए ।
सांसद राईले सुनसरी घटनापछि उत्पन्न तनाव समाधानका लागि सर्वदलीय बैठक आयोजना गरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिप्रति धन्यवाद व्यक्त गरे । उनले यस्तो संवेदनशील अवस्थामा राजनीतिक प्रतिस्पर्धाभन्दा राष्ट्रिय जिम्मेवारीलाई प्राथमिकता दिनु सकारात्मक कदम भएको बताए ।
धार्मिक तनावलाई व्यापक हिन्दू–मुस्लिम द्वन्द्वमा रूपान्तरण हुन नदिन प्रधानमन्त्री, गृहमन्त्री, स्थानीय सरकार, सुरक्षा निकाय, राजनीतिक दल, धार्मिक अगुवा तथा नागरिक समाजले निर्वाह गरेको भूमिकाको पनि उनले प्रशंसा गरे । समयमै गरिएको हस्तक्षेप, संवाद र संयमताले सम्भावित ठूलो दुर्घटना टार्न सहयोग पुगेको उल्लेख गर्दै यस्ता प्रयास अझ चाँडै भएको भए स्थिति थप सहज हुने उनको भनाइ थियो ।
सांसद राईले इतिहासले धर्मका नाममा सुरु भएका द्वन्द्वले अन्ततः कुनै धर्मलाई विजयी नबनाई मानवतालाई नै पराजित गरेको शिक्षा दिएको उल्लेख गरे । उनले सुनसरी घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे । उनले शान्ति भनेको कफ्र्यु हटाउनु वा सडक खुलाउनु मात्र नभई नागरिकको मनबाट डर हट्नु, न्यायप्रति विश्वास जाग्नु र समुदायहरूबीच पुनः विश्वासको वातावरण बन्नु रहेको बताए ।





