Logo
२९ श्रावण २०८३, शुक्रबार
|  Fri Aug 14 2026

‘शेरबहादुरजी अब पदका लागि नलड्नुहोस्, अभिभावक बन्नुहोस्’:सुजाता कोइराला


काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टीभित्रको इतर पक्षलाई अहंकार त्यागेर मूल प्रवाहमा समाहित हुन र एकताको पक्षमा उभिन आग्रह गरेकी छन्।

शुक्रबार पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा कोइरालाले निवर्तमान सभापति शेरबहादुर देउवालाई पदको लडाइँ छाडेर अभिभावकीय भूमिका निर्वाह गर्न र त्याग देखाउन सुझाव दिएकी हुन्। राष्ट्रप्रतिको जिम्मेवारीबोध गर्दै पद र गुटभन्दा माथि उठेर एकताबद्ध हुन आह्वान गरेकी उनले सभापति गगनकुमार थापा सबै पक्षप्रति लचिलो र जिम्मेवार रूपमा प्रस्तुत भइरहेको भन्दै उनको नेतृत्व शैलीको खुलेर प्रशंसा गरिन्।

उनले बाह्य तथा आन्तरिक षड्यन्त्रका बाबजुद वर्तमान सभापति गगन थापाले नेपाली कांग्रेसलाई अत्यन्तै कुशल र परिपक्व ढङ्गले अगाडि बढाइरहेको बताइन्। सुरुवाती दिनमा गगन थापाले पार्टी कसरी हाँक्लान् भन्ने आफूलाई केही चिन्ता लागेको स्मरण गर्दै उनले अहिले थापाले आफ्नो कार्यक्षमता र व्यवहारबाटै सफल नेतृत्व प्रमाणित गरिसकेको स्पष्ट पारिन्।

इतर समूहका नेताहरूलाई लक्षित गर्दै उनले समयको पदचाप बुझ्न र विग्रहको बाटो त्यागेर पार्टी सुदृढीकरणमा लाग्न अनुरोध गरिन्। पद र प्रतिष्ठाको व्यक्तिगत टकरावले कसैको हित नगर्ने स्पष्ट पार्दै उनले वैधानिक नेतृत्वलाई साथ दिएर पार्टीलाई थप एकताबद्ध, जुझारु र जनप्रिय बनाउन सबै तहका नेता–कार्यकर्ताहरूलाई आह्वानसमेत गरिन्।


प्रतिक्रिया दिनुहोस !
विचार