नेकपा एमालेका सांसद राजेन्द्र राईले कानून बनाएर गाँजा खेतीलाई खुला गर्न माग गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै गाँजा खेतीलाई वैधानिक गर्न सके देशको अर्थतन्त्र सुधार ल्याउन सकिने दाबी छ।
आफ्नो जीविकोपार्जनका निम्ति गाँजा खेती रोजेको कारणबाट धनकुटाको युवाहरू जेलमा परेको बताए।विश्व स्वास्थ्य सङ्गठनले ९९ प्रतिशत गाँजा औषधिको निम्ति प्रयोग हुन्छ भनेर प्रमाणित गरिसकेको बताए।
विश्वमा सबैभन्दा राम्रो गाँजा नेपालमै पाउने भएपनि कानुन बनाउन नसकेको बताए।उनले थपे, ‘अब गाँजा खेतीको कानुन बनाउन, यसलाई विधिसम्मत सञ्चालन गर्ने वातावरण बनाउन माग गर्छु। गण्डकी प्रदेशले कानुन बनाएको छ, गाँजा रोप्ने बाटो खुला गरिदिएको छ। त्यहाँका जनताहरू उत्साहित छन्।’
उनले अहिले विश्व बजारमा औषधिको निम्ति सबभन्दा धेरै गाँजाको डिमान्ड रहेको बताए।उनले भने, ‘हामीले गाँजा बेच्न सक्यौँ भने अन्तर्राष्ट्रिय मुद्रा हामीले यो देशमा जम्मा गर्न सक्छौँ। जसले यहाँको अर्थतन्त्र बलियो हुन्छ। गाँजा खेतीलाई व्यवसायीकरण गरेर अनि सङ्कलन, प्रशोधन, बजारको व्यवस्थापन गर्न सकियो भने तमाम गाउँका युवाले रोजगार पाउँछन्।’





