काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना बीमा अभिकर्तालाई कम्पनी वा अन्य बीमकको व्यवसायमा प्रतिकूल असर पर्ने गरी गलत तथा भ्रामक प्रचारप्रसार नगर्न चेतावनी दिएको छ।
नेपाल लाइफले सूचना जारी गरी नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्तालाई जारी गरेको ध्यानाकर्षणलाई आधार बनाउँदै यस्तो निर्देशन दिएको हो।
बीमा अभिकर्तासम्बन्धी निर्देशिका, २०८३ को निर्देशन नं. १९ अन्तर्गत अनुसूची–१ मा रहेको आचारसंहिताको बुँदा २(ज) अनुसार आफू अभिकर्ता नरहेको कुनै पनि बीमकबारे वा आफूले प्रतिनिधित्व गर्ने बीमकको क्षमताबारे गलत वा अतिरञ्जित प्रचारप्रसार गर्न नपाइने व्यवस्था छ।
कम्पनीले आफ्ना अभिकर्ताका लागि यसअघि नै लागू गरेको आचारसंहितामा पनि सामाजिक सञ्जाल वा अन्य माध्यमबाट कम्पनीको छवि बिगार्ने, गलत सूचना फैलाउने तथा भ्रामक प्रचार गर्ने कार्य गर्न नहुने व्यवस्था गरेको जनाएको छ।त्यस्तो कार्य गरेको पुष्टि भएमा प्रचलित कानुनबमोजिम कारबाही हुने नेपाल लाइफले स्पष्ट पारेको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले जारी गरेको सूचनामा सबै अभिकर्तालाई कानुनी तथा आचारसंहिताका प्रावधान पालना गर्न सचेत गराइएको हो।
यसैबीच, नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ता तथा मध्यस्थकर्तालाई बीमासम्बन्धी गलत, भ्रामक र अतिरञ्जित प्रचारप्रसार नगर्न निर्देशन दिएको छ।
प्राधिकरणले विज्ञप्ति जारी गरी केही इजाजतपत्र प्राप्त बीमा मध्यस्थकर्ताले विभिन्न संस्थाको व्यवसायमा प्रतिकूल असर पर्ने गरी बीमासम्बन्धी गलत तथा भ्रामक प्रचारप्रसार गरिरहेको भन्दै उजुरी तथा गुनासो प्राप्त भएको जनाएको छ।







