काठमाडौँ । नेपाल भ्रमणमा रहेका दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन र परराष्ट्रमन्त्री शिशिर खनालबीच भेटवार्ता भएको छ।आइतबार परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा उनीहरुबीच भदौ १० गते भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यका विषयमा छलफल भएको छ । बाढीपछि बेपत्ता भएका कोरियाली नागरिकको खोजी कार्यबारे समेत दुई विदेशमन्त्रीबीच कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भेटमा मन्त्री खनालले बाढी प्रभावित क्षेत्रमा अन्तरनिकायीय द्रुत प्रतिकार्य टोली तथा कोरिया डिजास्टर रिलिफ टिम (केडीआरटी) पठाएकोमा दक्षिण कोरिया सरकारप्रति आभार व्यक्त गरे । उनले कोरियाले उपलब्ध गराएको मानवीय सहायता तथा राहत सामग्रीका लागि समेत धन्यवाद दिए।
नेपाल सरकारको आगामी प्राथमिकता विपद् प्रतिरोधी, दिगो र सुरक्षित पूर्वाधार निर्माण गर्दै पुनर्निर्माण अघि बढाउनु रहेको उल्लेख गर्दै मन्त्री खनालले यसका लागि दक्षिण कोरियाबाट निरन्तर सहयोगको अपेक्षा व्यक्त गरे।भेटमा कोरियाका विदेशमन्त्री चो ह्युनले विपद्पछिको पुनर्निर्माणमा नेपाललाई सहयोग गर्न आफ्नो सरकार तयार रहेको बताए। जलवायु परिवर्तनका कारण नेपालजस्ता मुलुकले भोगिरहेको क्षतिप्रति अन्तर्राष्ट्रिय समुदायको ऐतिहासिक जिम्मेवारी रहेको उनको भनाइ थियो।
नेपाल र दक्षिण कोरियाले जलवायु परिवर्तनका असरबारे अन्तर्राष्ट्रिय समुदायलाई सचेत गराउन मिलेर काम गर्नुपर्ने बताउँदै उनले कोपलगायत अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पक्षमा आवाज उठाउने प्रतिबद्धता जनाए।नेपालले अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त गर्नुपर्ने वित्तीय सहयोगका लागि समेत दक्षिण कोरियाले आवाज उठाउने उनले बताए।








