काठमाडौं । धितोपत्र बजारलाई सुदृढ, आधुनिक, पारदर्शी र लगानीमैत्री बनाउँदै बजारमा देखिएको शिथिलता हटाउन अर्थ मन्त्रालयले ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ सार्वजनिक गरेको छ ।
सोमबार सार्वजनिक २१ बुँदे कार्ययोजनामा प्राथमिक तथा दोस्रो बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, संस्थागत लगानी विस्तार, ऋणपत्र बजारको विकास, नेप्सेको पुनर्संरचना, गैरआवासीय नेपालीलाई दोस्रो बजारमा प्रवेश, कर प्रणालीमा सुधार तथा बैंक तथा वित्तीय संस्थाको पुँजी बजारसम्बन्धी लगानीको पुनरावलोकनलगायतका विषय समेटिएका छन् ।
अर्थ मन्त्रालयका अनुसार पछिल्ला केही वर्षदेखि अर्थतन्त्रमा देखिएको शिथिलताको प्रभाव बैंक तथा वित्तीय क्षेत्र, उद्योग, वाणिज्य, पूर्वाधार विकास, लगानी र पुँजी बजारमा समेत परेको छ ।
सरकारले वार्षिक नीति तथा कार्यक्रम र चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अर्थतन्त्रको विस्तार तथा चलायमान बनाउने कार्यक्रम कार्यान्वयन गरिरहेका बेला भोटेकोशी बाढीबाट भएको मानवीय तथा सूचीकृत जलविद्युत् आयोजनासहित भौतिक पूर्वाधारमा भएको क्षतिले अर्थतन्त्रमा थप चाप परेको मन्त्रालयले जनाएको छ । सोही परिस्थितिलाई ध्यानमा राख्दै पुँजी बजारमा तत्कालीन सुधार तथा पुनरुत्थानका लागि कार्ययोजना ल्याइएको हो ।







