अमेरिकी सञ्चारमाध्यमहरू सीएनएन, पोलिटिको र एमएस नाओले आफ्ना पत्रकारलाई ह्वाइट हाउस प्रवेशमा रोक लगाएपछि राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनविरुद्ध कानुनी प्रक्रिया अघि बढाएका छन् ।
शुक्रबार ट्रम्पले यी सञ्चारमाध्यममाथि आफ्नो प्रशासनबारे ‘झुटा वा काल्पनिक’ समाचार प्रकाशित गरेको आरोप लगाउँदै ह्वाइट हाउसबाट प्रतिबन्ध लगाउने घोषणा गरेका थिए । ती संस्थाहरूका अनुसार शनिबारदेखि उनीहरूका पत्रकारलाई ह्वाइट हाउस प्रवेशका लागि आवश्यक अनुमति दिइएन ।
तीनवटै सञ्चारमाध्यमले सोमबार संयुक्त वक्तव्य जारी गर्दै सरकारले सञ्चारमाध्यमले के समाचार प्रकाशन गर्ने भन्ने निर्णय गर्न नपाउने सिद्धान्तको रक्षा गर्न कानुनी बाटो रोजेको बताएका छन् ।
सीएनएन, पोलिटिको र एमएस नाओले सोमबार वासिङ्टनस्थित अमेरिकी जिल्ला अदालतमा मुद्दा दायर गर्दै ट्रम्पको प्रतिबन्धलाई असंवैधानिक घोषणा गर्न र ह्वाइट हाउसका अधिकारीहरूलाई उक्त प्रतिबन्ध कार्यान्वयन गर्नबाट रोक्न तत्काल आदेश जारी गर्न माग गरेका छन् ।
मुद्दा दायर भएको समाचार सार्वजनिक भएपछि ट्रम्पले सीएनएन, पोलिटिको र एमएस नाओलाई ‘थर्ड रेट क्लाउन्स’ तथा ‘भ्रष्ट र बेइमान प्रेस’ भन्दै आलोचना गरेका छन् ।आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा उनले नकारात्मक समाचार मात्र प्रकाशन गर्ने र ‘झुटा तथा हानिकारक’ समाचारमार्फत राष्ट्रिय सुरक्षालाई असर पार्ने सञ्चारमाध्यमलाई विश्वकै महत्त्वपूर्ण कार्यालय मानिने ह्वाइट हाउसमा प्रवेश दिन नहुने दाबी गरेका छन् ।उनले आफ्नो प्रशासनले अदालतको निर्णयविरुद्ध अपिल गर्ने सम्भावना रहेको पनि बताएका छन् ।








