Logo
२१ आश्विन २०८३, बुधबार
|  Wed Oct 7 2026

पशुपतिनाथ मन्दिरमा प्रवेशसम्बन्धी घटनाप्रति विश्व हिन्दू परिषद् नेपालको ध्यानाकर्षण


काठमाडौं । पशुपतिनाथ मन्दिरको धार्मिक मर्यादा, परम्परा तथा प्रवेश व्यवस्थाको उल्लङ्घन भएको विषयप्रति विश्व हिन्दू परिषद् नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

विश्व हिन्दू परिषद् नेपाल, मठ–मन्दिर अर्चक तथा पुरोहित विभागले जारी गरेको विज्ञप्तिमा पशुपतिनाथ मन्दिर नेपालको राष्ट्रिय धार्मिक सम्पदाका साथै विश्वभरका हिन्दूहरूको आस्थाको सर्वोच्च केन्द्र भएकाले यसको धार्मिक परम्परा, संस्कार र विशिष्ट पूजापद्धतिको संरक्षण गर्नुपर्नेमा जोड दिइएको छ।

हालै सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा मुस्लिम समुदायका केही व्यक्तिहरू पशुपतिनाथ मन्दिरमा प्रवेश गरेको देखिएको भन्दै परिषद्ले उक्त विषयलाई गम्भीर र आपत्तिजनक भएको जनाएको छ। धार्मिक आस्था र परम्परासँग जोडिएको संवेदनशील स्थलमा प्रचलित नियमलाई जानाजान चुनौती दिने, त्यसको भिडियो निर्माण गरी सार्वजनिक गर्ने तथा धार्मिक भावनामा असर पार्ने कार्य स्वीकार्य नहुने परिषद्को भनाइ छ।

परिषद्ले उक्त घटनालाई कुनै धर्म वा समुदायविरुद्धको विषयका रूपमा नलिई मन्दिरको धार्मिक मर्यादा, स्थापित प्रवेश व्यवस्था र कानुनी शासनसँग सम्बन्धित विषयका रूपमा हेर्नुपर्ने स्पष्ट गरेको छ। नेपालको संविधानले धार्मिक स्वतन्त्रता तथा सबै धर्म र समुदायप्रतिको सम्मान सुनिश्चित गरे पनि धार्मिक स्वतन्त्रताको अर्थ अर्को धर्मको विशिष्ट धार्मिक स्थलमा लागू धार्मिक नियम तथा परम्पराको उल्लङ्घन गर्ने अधिकार नभएको परिषद्को भनाइ छ।

परिषद्ले घटनाको निष्पक्ष छानबिन गरी तथ्य र प्रमाणका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन सम्बन्धित निकायसँग माग गरेको छ। साथै, पशुपति क्षेत्र विकास कोषले मन्दिरको प्रवेशसम्बन्धी व्यवस्था, सुरक्षाकर्मी तथा कर्मचारीको भूमिकाका सम्बन्धमा आवश्यक छानबिन गरी तत्काल स्पष्ट पार्नुपर्ने माग गरिएको छ।

पशुपति क्षेत्र विकास कोषजस्तो पवित्र धार्मिक क्षेत्रको संरक्षण, व्यवस्थापन तथा धार्मिक मर्यादा कायम गर्ने जिम्मेवारी सम्बन्धित निकायको भएको उल्लेख गर्दै परिषद्ले भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रवेश व्यवस्था, सुरक्षा तथा अनुगमन प्रणालीलाई थप प्रभावकारी र कडाइका साथ कार्यान्वयन गर्न आग्रह गरेको छ।

त्यस्तै, सामाजिक सञ्जालमार्फत हिन्दूहरूको धार्मिक आस्थामाथि ठेस पु-याउने किसिमका सामग्री प्रचार–प्रसार नगर्न मठ–मन्दिर, अर्चक तथा पुरोहित विभागले आग्रह गरेको छ।

परिषद्ले पशुपतिनाथ केवल एउटा मन्दिर मात्र नभई नेपालको सनातन सभ्यता, संस्कृति, धार्मिक आस्था र पहिचानसँग जोडिएको अमूल्य सम्पदा भएकाले यसको धार्मिक मर्यादा, परम्परा र विशिष्टता संरक्षण गर्नु राज्य, सम्बन्धित निकाय तथा सम्पूर्ण नेपाली समाजको साझा दायित्व भएको जनाएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार