मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ । पार्टीले आयोगबाट विधिवत् रूपमा दर्ताको प्रमाणपत्र प्राप्त गरेको जनाएको छ ।
पार्टीका अनुसार यसको औपचारिक घोषणा कार्यक्रम आगामी ७ मंसिरमा झापाको दमकमा आयोजना हुनेछ ।
पार्टीले सम्पूर्ण राजनीतिक दल, राष्ट्रवादी धारमा विश्वास राख्ने नेपाली, उद्योगी–व्यवसायी, श्रमिक, युवा तथा आम नागरिकलाई देश र जनताको हितमा एकताबद्ध भएर अघि बढ्न आग्रह गरेको छ ।
पार्टीले देश जोगाउने र बनाउने अभियानमा पृथ्वीनारायण शाहको रगतसँग जोडिएका राजा तथा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायतका पूर्वराष्ट्रसेवक र राष्ट्रसेवकलाई राष्ट्रिय एकता, सुशासन, शान्ति र समृद्धिका लागि सहकार्य गर्न आह्वान गरेको छ ।








