साउदी अरबको पूर्वी शहर दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।
साउदी अरबको नागरिक उड्डयन प्राधिकरण (जीएसीए) ले बुधबार जारी गरेको विज्ञप्तिमा घाइतेहरूको अवस्था सामान्यदेखि गम्भीरसम्म रहेको जनाएको छ । सबै घाइतेलाई उपचारका लागि अस्पताल पुर्याइएको प्राधिकरणले जानकारी दिएको छ ।
यसअघि बुधबार नै साउदी अरबको ऊर्जा मन्त्रालयले शैबह तेल क्षेत्रमा रहेको साउदी अराम्कोको एक संरचनालाई लक्षित गरी आएको ड्रोनलाई हवाई प्रतिरक्षा प्रणालीले अवरोध गरेपछि भएको घटनामा दुई जनाको मृत्यु भएको जनाएको थियो । जसमा एक जना नेपाली नागरिक थिए ।
हुथी विद्रोही र साउदी समर्थित यमनको अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारका सेनाबीच द्वन्द्व चर्किरहेका बेला साउदी अरबका विमानस्थलमाथि भएका आक्रमणको यो पछिल्लो घटना हो ।








