काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जलवायु परिवर्तनका कारण सिर्जित विपद्बाट पुगेको क्षतिको पुनर्निर्माणका लागि नेपालले ऋण लिन नहुने धारणा विश्व मञ्चमा राखेका छन्।
भारतको नयाँदिल्लीमा आयोजित एनडीटीभी वर्ल्ड समिट २०२६ मा बोल्दै उनले नेपालको कुनै गल्ती नै नभएको सङ्कटका कारण भत्किएका पूर्वाधार बनाउन ऋणको भारी बोक्नुपर्ने अवस्था न्यायोचित नभएको बताएका हुन्।
एसियाकै गरिब देशमध्येको एक रहेको नेपालले विनाकारण ठूलो वातावरणीय मूल्य चुकाइरहेकोतर्फ विश्व समुदायको ध्यानाकर्षण गराउँदै उनले यसलाई पर्यावरणीय ऋणको परिप्रेक्ष्यबाट हेर्नुपर्नेमा जोड दिएका छन्।
उनले नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा परम्परागत क्षतिपूर्ति वा सहयोगको याचनाभन्दा पनि विश्वव्यापी ऐक्यबद्धताको खोजी गरिरहेको स्पष्ट पारे। भर्खरै सम्पन्न संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले समेत यसै विषयलाई जोडतोडका साथ उठाएको उनले स्मरण गरे।







