स्कटल्याण्डको ग्लास्गोमा जारी कोप-२६ को शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडनले चिनियाँ राष्ट्रपति सि चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अनुपस्थित भएकोमा आलोचना गरेका छन्। कोप-२६ मा विश्वका १२० भन्दा बढी मुलुकका नेताहरु सहभागी रहेका छन् ।
जलवायु परिवर्तनका मुद्दामा भएको विशाल छलफलमा वातावरण प्रदुषणका मुख्य हिस्सेदार चीन र रुस नै अनुपस्थित हुनु दुःखद भएको बाइडनको भनाई छ । अनुपस्थित दुबै देशले आफ्ना प्रतिनिधि भने सम्मेलनमा पठाएका छन् । चीन विश्वकै सबैभन्दा ठूलो कार्बन डाइअक्साइडको उत्सर्जक हो । चीनपछि धेरै कार्वन उत्सर्जन गर्ने मुलुकमा अमेरिका रहेको छ ।
यसैगरी रुस कार्वन उत्सर्जनमा विश्वमा पाँचौ स्थानमा रहेको छ । भारत र युरोपेली संघमा आवद्ध मुलुक कार्वन उत्सर्जनमा तेस्रो र चौथो स्थानमा रहेका छन् । जलवायु परिवर्तनमा मुख्य कारक रहेका विश्वका ठूला कार्वन उत्सर्जकले प्रतिवद्धता सहित काम नगरेसम्म जलवायु परिवर्तनको असर रोक्न असम्भव जस्तै छ ।





