Logo
१९ कार्तिक २०८३, बिहीबार
|  Thu Nov 5 2026

म कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन, मेरा हातहरू सफा छन् :गगन थापा


काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा आफ्नो संलग्नताबारे उठेका प्रश्नको खण्डन गरेका छन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै सभापति थापाले कांग्रेसको आधिकारिकतासम्बन्धी कानुनी लडाइँमा आफूले कुनै पनि अनुचित आर्थिक कारोबार नगरेको स्पष्ट पारेका हुन् ।

उनले आफू कुनै कमजोर नैतिक धरातलमा नरहेको र आर्थिक लेनदेनमा संलग्न नभएको दाबी गरेका छन्। उनले भने, ‘म आज मात्र हो ? योभन्दा बलियो सत्ता भएको समयमा गलत गरेको बेला त्यससँग लडेर प्रश्न गर्दै आएको छु । आफ्नै पार्टीको सरकार हुँदा पनि गलत हुँदा बोल्न छाडिनँ । बोल्ने आँट कहाँबाट आउँछ ? कतै कमजोर भएको भए, मेरो स्वच्छता र इमानदारीमा सम्झौता गरेको भए बोल्ने आँट आउँथ्यो ? आउँदैनथ्यो ।’

बिचौलिया इनम सापकोटाको सार्वजनिक अडियो तथा बयानमा आर्थिक लेनदेनको विषय जोडिएकोबारेमा उनले करोडौँ रुपैयाँको चर्चा भए पनि आफूले एक सुकोसमेत अनुचित लेनदेन नगरेको बताए।

उनले भने, ‘ढुक्क हुनुहोस्, म गगन थापा, तपाईंको दाइ, भाइ, छोरा, साथी र सभापति कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन। मेरा हातहरू सफा छन् । मेरा पक्षमा ढुक्कले बोल्नुहोस्। गलत प्रश्न मलाई होइन, सही प्रश्न सही ठाउँमा सोधौँ।’

सभापति थापाले कांग्रेसको विशेष महाधिवेशनलाई पार्टीभित्रको विद्रोहको संज्ञा दिँदै विद्रोह गर्नेहरूले परिणामको चिन्ता नगर्ने पनि बताएका छन्। आफ्नो चरित्रमाथि प्रश्न उठाउने र विवादमा तान्ने प्रयास भइरहेको भन्दै थापाले सरकारबाट प्रायोजित अडियो सार्वजनिक गरिएको दाबीसमेत गरे ।

उनले भने, ‘मेरो वरिपरि विवाद ल्याइएको छ । व्यापक रूपमा मेरो चरित्रमाथि प्रश्न गरिएको छ । प्रत्येक पटक लडेर आएको हुँ म, प्रत्येक पटक बाँचेर आएको हुँ । ढलेको छैन नि म । किन थाहा छ ? तपाईंहरूको शुभेच्छा, आशिर्वाद आफ्नो ठाउँमा छ । सबैभन्दा ठूलो कुरा मेरो मोरल स्ट्रेन्थ हो । यो लडाइँमा म किन बाँचेको छु भने म सफा छु, स्वच्छ छु र ठिक ठाउँमा उभिएको छु । त्यसैले ढुक्क रहनुस् ।’

सभापति थापाले पार्टीका नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूलाई विचलित नहुन र आफूलाई विश्वास गर्न आग्रह गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार