काठमाडौं । सरकार र अनसनरत डा. गोविन्द केसीबीच ६ बुँदे सहमति भएको छ । सहमतिसँगै गएराति डा. केसीले आफ्नो २५औँ सत्याग्रह अन्त्य गरेका छन् । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शनिबार राति नै त्रिवि शिक्षण अस्पताल पुगेर सहमति गरी अनसन तोडाएका हुन् ।
डा. गोविन्द केसी र सरकारबीच भएको सहमतिमा डा. केसी, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा. डा. जगदीश अग्रवाल, सांसद् पुकार बम र नेपाल मेडिकल एसोसियसनका अध्यक्ष डा. बद्री रिजालले हस्ताक्षर गरेका छन् ।
सहमतिअनुसार नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको आर्मी मेडिकल कलेजमा एमबीबीएस सिट संख्या थप गर्ने निर्णय मापदण्डअनुसार भए–नभएको छानबिन गरिनेछ । यसका लागि प्रा. डा. रमेशप्रसाद आचार्यको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिने भएको छ ।
चिकित्सा शिक्षा आयोगले गत असोज ३० गते गरेको निर्णयअनुसार सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई एमबीबीएसलगायत शैक्षिक कार्यक्रम सञ्चालनको अनुमति र सिट निर्धारण गर्ने विषय पनि सहमतिमा समेटिएको छ ।








